दरबारमार्ग मलको ठगीको मुद्दा दर्ता, तीन जना अभियुक्त बन्दा ओलीको स्वकीय राजेशको श्रीमतीबारे अभियोग पत्र मौन
काठमाडौँ : दरबारमार्गमा रहेको नेपाल ट्रस्टको एक रोपनी १४ आना जग्गा भाडामा दिँदा ५ अर्ब २५ करोड ६३ लाख अनियमितता भएको दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले बुधवार मुद्दा दायर गरेको छ।
अभियोग पत्रमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाइएको छ।
एक सातासम्म केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुझाएको प्रस्तावित रायमा ६ अर्ब दाबी गरिए पनि बिगो रकम घटाइएको छ। प्रस्तावित रायमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको श्रीमतीको नाममा यती एयर प्रालिको नामबाट नामसारी भएको घरजग्गा सोही प्रकरणमा जोडिएको घुस रहेको दाबी गरिएको थियो। यसबारे अभियोग पत्र मौन छ।
सिआइबीको अनुसन्धानको प्रस्तावित राय सुझाव ठगीसहित संगठित अपराध र आपराधिक विश्वासघातमा मुद्दामा अभियोग लैजान गरेको सिफारिस विपरीत सरकारी वकिलले ठगीको मात्र कसुर लगेको छ। अभियोग पत्रमा भाडामा लगाउने बोलपत्रकै क्रममा सम्झौता रकम घटाएर चार अर्ब ८६ करोड २५ लाख नोक्सान गरेको, तीन तलाको सम्झौता भएकोमा पाँच तला बढाएर त्यसबापतको ३८ करोड ८४ लाख रुपैयाँ नेपाल ट्रस्टलाई घाटा गराएको र सरकारी बाटोको तीन आना जग्गा प्रयोग गरेर ५३ लाख ४४ हजार नोक्सान गरेको भन्दै बिगो पाँच करोड कायम गरिएको छ।
सम्बन्धित समाचार
पुष २, २०८२ बुधबार १७:१३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।