बम विस्फोट मुद्दामा प्रहरीले पक्राउ गरेपछि निलम्बनमा परे हर्क साम्पाङको पार्टीका उपाध्यक्ष

बम विस्फोट मुद्दामा प्रहरीले पक्राउ गरेपछि निलम्बनमा परे हर्क साम्पाङको पार्टीका उपाध्यक्ष

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ले आफ्ना उपाध्यक्ष राज कुमार तामाङ (देवराज लामा)लाई पदबाट निलम्बन गरेको छ।

विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि पार्टीले उनलाई निलम्बन गरेको हो।

पार्टी अध्यक्ष हर्क साम्पाङले आज एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष तामाङलाई अनुसन्धानको टुंगो नलागेसम्मका लागि निलम्बन गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘धेरै वर्ष पहिलेको राजनीतिक गतिविधिका कारण देखाएर प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भएपछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका खातिर आजकै मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको छ।’

हर्क साम्पाङको पार्टीमा उपाध्यक्ष रहेका तामाङ सामान्य राजनीतिक कार्यकर्ता मात्र नभई गम्भीर आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। उनी २०६८ साल फागुन १५ गते काठमाडौंको बबरमहलमा भएको भयानक बम विस्फोटनका मुख्य योजनाकारमध्ये एक हुन्।

‘संयुक्त जातीय मुक्ति मोर्चा’को नाममा गराइएको उक्त विस्फोटमा परी कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र वीरबहादुर तामाङ गरी तीन जनाको मृत्यु भएको थियो। सो घटनामा दोषी ठहर हुँदै अदालतले उनलाई १५ वर्ष कैद सजाय सुनाएको थियो।

विश्वक्रान्ति, कुमार र देवराज लामा जस्ता उपनामले चिनिने तामाङले १५ वर्षको सजाय पाए पनि ७ वर्ष मात्र जेल बसेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आममाफी दिएपछि उनी ८ वर्ष कैद मिनाहा पाएर कारागारमुक्त भएका थिए।

बबरमहल काण्डमा आममाफी पाएर छुटेका तामाङविरुद्ध पाँचथर जिल्लामा अर्को विस्फोटक पदार्थ सम्बन्धी पुरानो मुद्दा बाँकी रहेको खुलेको छ।

२०६९ असारमा पाँचथरको भुसपातेमा विस्फोटक पदार्थसहित पक्राउ परेको घटनासँग जोडिएको मुद्दामा उनलाई सीआईबीले मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेको हो।

यसबाहेक, एक बालिकाको मृत्यु र २ जना घाइते हुने गरी २०८१ भदौ १४ गते भएको अर्को बम विस्फोटको घटनामा समेत उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ। काठमाडौंमा पक्राउ परेका तामाङलाई थप अनुसन्धान र कारबाहीका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ।

पुष २, २०८२ बुधबार १३:५२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।