एनपीएलका ‘चौका’ बाट विद्यार्थीलाई राहत : एनसेल फाउन्डेसनले २४ सय २८ शैक्षिक सामग्री वितरण गर्ने

एनपीएलका ‘चौका’ बाट विद्यार्थीलाई राहत : एनसेल फाउन्डेसनले २४ सय २८ शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं : एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्रहार भएका चौकाको आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ।

फाउन्डेसनले खेल अवधिभर प्रहार भएका चौकाको गणना गरी कुल २ हजार ४ सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको हो।

एनसेलले एनपीएलका क्रममा ‘हरेक चौका बापत चार वटा शैक्षिक सामग्री’ प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो।

सोही प्रतिबद्धता अनुसार प्रतियोगिताभर ९९ जना खेलाडीले प्रहार गरेका ६०७ वटा चौकाका आधारमा शैक्षिक सामग्रीको संख्या निर्धारण गरिएको हो।

प्रतियोगितामा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सर्वाधिक ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्री सुनिश्चित गराएका छन्।

यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्टले २६ चौका (१०४ सामग्री) र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले २३ चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन्।

वितरण गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुनेछन्।

एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्काले खेलाडीहरूको प्रदर्शनले मैदानमा टिमलाई मात्र नभई विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्याएको बताइन्।

उनले भनिन्, ‘हामी सरोकारवालाहरूसँग सहकार्य गर्दै सरकारी विद्यालयका आवश्यकता भएका विद्यार्थीहरूलाई लक्षित गरी यी सामग्री वितरण गर्नेछौँ।’

एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको एनसेलले सर्वाधिक चौका प्रहार गर्ने खेलाडीलाई नगद पुरस्कार समेत प्रदान गरेको छ।

प्रतियोगिताभर सबैभन्दा धेरै चौका प्रहार गरेका एडम रोसिङ्टनले २ लाख रुपैयाँ र प्रत्येक खेलमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए।

फाउन्डेसनले नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ। गत वर्षको पहिलो संस्करणमा पनि एनसेलले ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो।

पुष २, २०८२ बुधबार १२:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।