ट्रम्पद्वारा भेनेजुएलाका तेल ट्याङ्करहरूमा पूर्ण नाकाबन्दीको आदेश, क्यारेबियन क्षेत्रमा सेना तैनाथ

ट्रम्पद्वारा भेनेजुएलाका तेल ट्याङ्करहरूमा पूर्ण नाकाबन्दीको आदेश, क्यारेबियन क्षेत्रमा सेना तैनाथ

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला आउने र त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमा पूर्ण नाकाबन्दी लगाउने आदेश दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट लेख्दै ट्रम्पले भेनेजुएलामाथि आतंकवाद, लागूऔषध तस्करी र मानव बेचबिखनमा संलग्न भएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘त्यसैले, आज म भेनेजुएला आउने र जाने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूको पूर्ण र सम्पूर्ण नाकाबन्दीको आदेश दिँदै छु।’

यसअघि गत साता मात्रै अमेरिकाले भेनेजुएलाको तटनजिकै एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो। उक्त घटनालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले समुद्री डकैती भन्दै कडा आलोचना गरेका थिए

 ट्रम्पको यो नयाँ आदेशले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठुलो हलचल आउने अनुमान गरिएको छ।

नाकाबन्दीको घोषणासँगै अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ। यस सैन्य तैनाथीमा परमाणु शक्तिसम्पन्न पनडुब्बी, जासुसी विमान र १५ हजार सैनिकहरू समावेश छन्।

पुष २, २०८२ बुधबार ०८:०४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।