महासचिवमा शंकरमाथि सुरेन्द्र हाबी देखिएपछि सारियो मतदानको समय, स्वतन्त्र बनेका सुहाङ ओली समूहमा भित्रिए

महासचिवमा शंकरमाथि सुरेन्द्र हाबी देखिएपछि सारियो मतदानको समय, स्वतन्त्र बनेका सुहाङ ओली समूहमा भित्रिए

काठमाडौं : मंगलबार साँझ ७ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिको कार्यतालिका अनुसार मत हाल्न प्रतिनिधिहरू लाइनमा बसिसकेका थिए। मौसम चिसिँदै गएकाले भोट हालेर आफू बसेको ठाउँ पुग्न हतारमा देखिन्थे प्रतिनिधि।

शीर्ष नेताहरू पनि हलमा थिए। आठ बज्नै लाग्दा महासचिव शंकर पोखरेलले माइक समातेर “आदरणीय कमरेडहरू” भन्दै सम्बोधन सुरु गरे। मतदान सुरु हुनै लाग्दा उनले एकाएक “भोलि बिहान ८ बजेसम्मको लागि मतदान स्थगित भएको” घोषणा गरे।

उनले यस्तो घोषणा गर्दा पार्टी अध्यक्षका दुवै प्रत्याशी केपी ओली र शंकर पोखरेल मञ्चमै थिए। नजिकै विष्णु पौडेल पनि देखिए। उनले मतदानको समय सरेको कारण खुलाउँदै “प्राविधिक र चिसो मौसम” भने।

एमालेले मतदानमा इलेकट्रोनिक भोटिङ पद्धतिको प्रयोग गर्दैछ। यसका लागि मतदान केन्द्र र मेसिनहरू समेत सबै जडान भइसकेको थियो। निर्वाचन समितिका अधिकारीहरू मतदानको सबै प्रक्रिया पुरा भइसकेकाले एकै पटक ८० जनासम्मलाई हलमा छिराएर चाँडो मतदान सक्काएर गणनाको तयारी गर्ने बताइरहेका थिए।

तर त्यस्तो दाबी गरेको केही मिनेटमै मतदानको समय नै सारिएको घोषणा भयो। घोषणा हुँदा मञ्चमा रहेका ईश्वर पोखरेल लगायतका नेताहरूले कुनै प्रतिक्रिया जनाएको देखिएन। तर हलबाट बाहिरिनेक्रममा पोखरेल समूहका पदाधिकारीहरूका उम्मेदवार भने प्रविधि भन्दा पनि मत परिणाममा गडबड हुने शङ्काले मतदानको समय सारिएको प्रतिक्रिया दिइरहेका थिए।

हलबाट बाहिरिँदै गरेका पोखरेल समूहका एक पदाधिकारीले नाम उल्लेख नगर्न भन्दै भने “प्राविधिक र मौसम त बहाना मात्रै हो। माहौल खराब देखेपछि ओली समूहले बहाना बनायो।”

एमालेले भृकुटीमण्डपमा भाडामा लिएको ठाउँको म्याद आजसम्म मात्रै हो। भोली बिहान त्यहाँ अर्कै कार्यक्रमका लागि हल बुकिङ छ। मतदान समय नै सर्दा मतदान कहाँ गराउने अनि गणना कहाँ हुने भन्ने अन्योल समेत बढेको छ।

शंकरमाथि सुरेन्द्र हाबी, गुट मिलाउने कसरत

मंगलबार भृकुटीमण्डपको माहोल ईश्वर पोखरेलको तुलनामा केपी ओली पक्ष बलियो देखिन्थ्यो। ओलीपक्ष संगठित रूपमा प्रचारमा खटिएको थियो।

तर महासचिवमा शंकर पोखरेलमाथि सुरेन्द्र पाण्डे हाबी देखिए। प्रचारमा मात्रै हैन प्रतिनिधिको प्रतिक्रिया पनि पनि अध्यक्षमा ओलीको सहज जीत भए पनि महासचिवमा भने कडा टक्कर हुने सुनिन्थ्यो।

मत हाल्न लाइन बसेका प्रतिनिधी।त्यसमा दुवै समूहले प्यानल बनाउँदा ओली समूहभन्दा ईश्वर समूह नै समावेशी देखिएको थियो। त्यसमा केही केन्द्रीय सदस्यहरूले स्वतन्त्र उम्मेदवारी दिए पनि अन्तिममा ईश्वरतिर खुल्ने जोखिम देखिएको थियो। त्यही जोखिमलाई कम गर्न पनि मतदानको समय तन्काएर बुधवार पुर्याइएको देखियो।

“‌ओली समूहमा पदाधिकारी मिले पनि केन्द्रीय सदस्यहरूमा भने कुरा मिल्न सकेको थिएन। सुहाङ नेम्वाङसहित केही केन्द्रीय सदस्यका कारण अध्यक्षको मत तलमाथि नभए पनि अन्य पदाधिकारीको मत बदलिन सकिने देखियो” स्रोतले भन्यो “मंगलबार दिनभर स्वतन्त्र उम्मेदवारको रूपमा प्रचार गरेका सुहाङ अहिले बेलुका एकाएक ओलीको प्यानलको केन्द्रीय सदस्य बने। भोली बिहानसम्ममा अन्य नामहरू पनि फेरबदल हुने देखिन्छ।”

समीकरण निर्माण र प्रतिनिधीहरुसँग निकट रहेका एक एमाले नेताका अनुसार सोमबार बेलुकासम्म ईश्वर समूहले बढीमा ३० प्रतिशत मत पाउन सक्ने आङ्कलन गरिए पनि मंगलबार दिनभरको प्रचार र प्यानल टुङ्ग्याएर प्रचार सुरु गरेपछि माहौल बदलिएको थियो।

प्यानल घोषणा गर्दा ईश्वर समूहलाई फाइदा भए पनि ओली समूहमा भने असन्तुष्टि बढ्यो। ईश्वर समूहका उम्मेदवारहरू सामूहिक प्रचारमा सक्रिय थिए। ओली समूहका अधिकांश भने एकल प्रचारमा थिए।

नेताहरूले आफ्नो प्रचारका लागि ल्याएका समर्थकहरू पनि समूहको भन्दा व्यक्ति केन्द्रित प्रचारमा लागेपछि ओली समूह झस्किएको देखियो।

“अध्यक्षमा त्यति धेरै मत तलमाथि हुने सम्भावना देखिएको छैन। तर महासचिवमा भने माहोल बदलिएको छ” ती नेताले भने “प्रतिनिधिहरूले कतै आफूलाई मत दिए पनि प्यानलमै रहेका शंकरलाई नदिने हुन् कि भन्नेमा कमरेड ओली नै शंकामा देखिनुभएको छ। यसले पनि मतदानको समय सार्ने माहोल बनेको देखियो।”

ओली प्यानलमा पुरानै हाबी

मंगलबार ओली समूहले सार्वजनिक गरेको पदाधिकारीको नामावलीमा पुरानै नेताहरू हाबी छन्। ओली अध्यक्षमा हुने नै भए। उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, राम बहादुर थापा (बादल), पृथ्वी सुब्बा गुरुङ र गुरुप्रसाद बराललाई राखियो। प्रदीप ज्ञवाली उपाध्यक्ष बन्न नमानेपछि ओली समूहले स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्तको नाम राखेको छ।

उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको नाम छ। सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्कीले नाम छ।

आन्तरिक रूपमा टुंगिए पनि ओली पक्षबाट केन्द्रीय सदस्यहरूको सूची भने सार्वजनिक भएको छैन। त्यसमा अझै फेरबदल हुने एक नेताले बताए।

उता ईश्वर पोखरेल समूहले पनि पदाधिकारीको सूची सार्वजनिक गर्यो। तर केन्द्रीय सदस्यको नाम भने सार्वजनिक भएको छैन। पोखरेल प्यानलमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. बिन्दा पाण्डे र पर्शुमेघी गुरुङको नाम छ।

महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपमहासचिवमा भने योगेश भट्टराई र वैजनाथ चौधरीको नाम मात्र छ। एक जना उपमहासचिवको नाम राखिएको छैन।

सचिव पदका लागि अग्निप्रसाद खरेल, ईन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकालले नाम छ। श्रेष्ठ र खरेल ओली समूहका हुन्।

पुष २, २०८२ बुधबार ००:२८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।