अख्तियारद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश र उनकी श्रीमती विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अख्तियारद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश र उनकी श्रीमती विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनंकर्मी र उनकी श्रीमती पूर्ण केशरी गोसाईं विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। मुनंकर्मी हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख पदमा कार्यरत छन्।

अख्तियारले मुनंकर्मीले पदीय मर्यादा विपरीतका काम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अभियोग पत्र दायर गरेको हो। अभियोग पत्रमा उनको २०५४ फागुन १ देखि २०८० मंसिर १४ सम्मको सम्पत्ति विवरणको अनुसन्धान भएको थियो।

अनुसन्धानमा उनको तीन करोड ७३ लाख वैध आय देखियो। यो बिचमा उनले ६ करोड २४ लाख खर्च गरेको देखिएको र २ करोड ५० लाखको स्रोत नखुलेको दाबी गरिएको छ।

अभियोग पत्र अनुसार उनको पारिश्रमिक/तलब बचत, जग्गा बिक्री आय, ऋण/सापटी आय, शेयर बिक्री आय, लाभांश/मुनाफा आय, बिमा परिपक्व/समर्पण आय, दैनिक भ्रमण भत्ता बचत, पुरस्कार रकम, कार्यालयबाट प्राप्त बोनस आय रकम, प्रोत्साहन भत्ता बचत, ब्याज कर कटाई हुन आउने ब्याज आय, आमा बाबुको सामाजिक सुरक्षा भत्ता बचत र बैना आयलाई समेत आम्दानीमा जोडिएको देखिन्छ।

जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन मोटरसाइकल खरिद, सुनको गरगहना खरिद, बिमा प्रिमियम भुक्तानी, अध्ययन शुल्क भुक्तानी, ऋण सापटी भुक्तानी, व्यवसाय/कम्पनीको लगानी, मुद्दती खातामा रहेको रकम, साथमा रहेको नगद रकम, विभिन्न बैँक तथा सहकारी संस्थाको खाताहरूमा रहेको मौज्दात रकम, सवारी साधनको नवीकरण शुल्क लगायतलाई खर्चमा गणना गरिएको छ।

यसरी हेर्दा उनको कुल आय भन्दा खर्च २ करोड ५० लाख देखिएपछि मुनंकर्मीले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

आयोगले बिनेशमाथि भ्रष्टाचार निवारण ऐन अनुसार बिगो २ करोड ५० लाख कायम गरेर कैद र बिगो बमोजिम जरिवानाको माग गरेको छ।

मुनंकर्मीले वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरण फारममा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानासहित लुकाएको सम्पत्ति जफत गर्न माग गरिएको छ। पूर्ण केशरी गोसाईंको हकमा जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको छ।

पुष १, २०८२ मंगलबार १८:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।