पोखरेल प्यानलका उम्मेदवारको सूची सार्वजनिक, उपमहासचिवमा एक पद खाली
काठमाडौं : एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले आफ्नो प्यानल टुंग्याएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेको पोखरेल पक्षले निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा आफ्नो प्यानलका पदाधिकारीहरूको उम्मेदवारी सूची सार्वजनिक गरेको हो।
सार्वजनिक सूचिअनुसार पोखरेल प्यानलेबाट महासचिवका रूपमा सुरेन्द्र पाण्डेलाई अघि सारिएको छ। पार्टीमा वैचारिक एवं संगठक नेताको छवि बनाएका पाण्डेको उम्मेदवारीले पोखरेल समूहलाई सांगठनिक रूपमा बलियो बनाएको अपेक्षा गरिएको छ।
यस्तै, उपाध्यक्ष पदका लागि अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. बिन्दा पाण्डे र पर्शुमेघी गुरुङको नाम सार्वजनिक गरिएको छ। पार्टी विधानमा तीन जना उपमहासचिव रहने व्यवस्था भए पनि पोखरेल पक्षले दुई जनाको मात्र नाम सार्वजनिक गरेको छ। जसमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन्। एक जना उपमहासचिवको स्थान भने खाली राखिएको छ।
सचिव पदका लागि भने तोकिएको संख्याअनुसार नै ९ जनाको नाम टुंगो लगाइएको छ। यो समूहबाट अग्निप्रसाद खरेल, ईन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकालले उम्मेदवारी दिने भएका छन्। सचिव पदका अधिकांश उम्मेदवार हिजो ओली समूहमा थिए। विश्वासपात्र मानिने बास्कोटा, श्रेष्ठ र खरेलसमेत पोखरेलको प्यानलबाट सचिवमा भिड्दै छन्।
प्यानल टुंगिएसँगै उम्मेदवारहरू भोट माग्न प्रतिनिधिहरू माझ पुगेका छन्। केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। आयोगका अनुसार आजै मतदान हुने कार्यक्रम तय भएको छ। दिउँसो १२ बजेबाट मतदान सुरु हुने समय तालिका भए पनि प्राविधिक तयारीका कारण ढिला गरी मात्र मतदान सुरु हुँदै छ।
पुष १, २०८२ मंगलबार १५:०७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।