थाइल्यान्डलाई विश्वकप पुर्याएका हर्षल नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्षल जयन्त पाठकलाई नियुक्त गरेको छ।
क्यानले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाठकलाई मुख्य प्रशिक्षकमा चयन गरेको जानकारी दिएको हो।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिका अनुसार, पाठक यसअघि थाइल्याण्ड महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा कार्यरत थिए।
नवनियुक्त प्रशिक्षक पाठकको मुख्य जिम्मेवारी नेपाललाई विश्वकपमा छनोट गराउनु हुनेछ। हाल नेपाली महिला टोली आईसीसीको कार्यक्रम अनुसार काठमाडौंमा आयोजना हुने ‘आईसीसी वुमन्स टी-२० ग्लोबल क्वालिफायर’को तयारीमा जुटेको छ।
यो प्रतियोगिता सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ। घरेलु मैदानमा हुने यो ठुलो प्रतियोगितालाई लक्षित गर्दै क्यानले अनुभवी विदेशी प्रशिक्षक भित्र्याएको हो।
भारतीय नागरिक हर्षल जयन्त पाठक महिला क्रिकेट जगतमा, विशेषगरी एसोसिएट राष्ट्रहरूमाझ एक सफल र चर्चित प्रशिक्षक मानिन्छन्।
पाठकको सबैभन्दा ठूलो परिचय थाइल्याण्डको महिला क्रिकेट टोलीसँग जोडिएको छ। उनकै प्रशिक्षणमा थाइल्याण्डको महिला टोलीले सन् २०२० मा अष्ट्रेलियामा भएको ‘आईसीसी महिला टी-२० विश्वकप’मा छनोट भएर इतिहास रचेको थियो। एसोसिएट राष्ट्रबाट विश्वकपमा पुग्ने थाइल्याण्डको त्यो यात्रालाई क्रिकेट जगतमा निकै सम्मानका साथ हेरिन्छ।
उनको कार्यकालमा थाइल्याण्डको टोलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार १७ खेल जितेर विश्व कीर्तिमान समेत बनाएको थियो। उनले थाइल्याण्डको टोलीलाई रक्षात्मक शैलीबाट आक्रामक र नतिजामुखी शैलीमा ढाल्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
प्रशिक्षक बन्नुअघि ४० वर्षीय पाठक एक व्यावसायिक क्रिकेटर थिए। उनले भारतको घरेलु क्रिकेट (रणजी ट्रफी) मा महाराष्ट्रको प्रतिनिधित्व गरेका थिए। उनी विशेषगरी ब्याटिङमा दखल राख्ने पूर्व खेलाडी हुन्।
पुष १, २०८२ मंगलबार ११:०२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।