भाषण तोडमोड गरेको आरोपमा ट्रम्पद्वारा बीबीसीविरुद्ध मानहानिको मुद्दा, अर्बौं डलर क्षतिपूर्ति माग
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्।
उनले ‘पेनोरामा’ डकुमेन्ट्रीमा ६ जनवरी २०२१ को आफ्नो भाषणलाई गलत तरिकाले सम्पादन गरी प्रसारण गरेको आरोप लगाएका छन्।
फ्लोरिडाको अदालतमा पेस गरिएका कागजातअनुसार ट्रम्पले क्षतिपूर्ति बापत अर्बौं डलरको माग गरेका छन्।
यस विषयमा बीबीसीले नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो, तर क्षतिपूर्ति दिनुपर्ने मागलाई भने अस्वीकार गरेको थियो। बीबीसीले मानहानीको मुद्दामा कुनै आधार नभएको प्रतिक्रिया दिएको छ।
के हो विवाद?
ट्रम्पको कानुनी टोलीले बीबीसीले ‘जानबुझेर र गलत मनसायले’ भाषणलाई तोडमोड गरी ट्रम्पको छवि बिगार्ने काम गरेको आरोप लगाएको छ।
ट्रम्पले फ्लोरिडाको व्यापारसम्बन्धी कानुन उल्लङ्घन र मानहानिको आरोपमा यो मुद्दा दर्ता गराएका हुन्।
६ जनवरी २०२१ को भाषणमा ट्रम्पले आफ्ना समर्थकहरूलाई भनेका थिए, ‘हामी क्यापिटल (संसद् भवन) सम्म जानेछौँ र हाम्रा बहादुर सिनेटरहरूलाई साथ दिनेछौँ।’
त्यसको करिब ५० मिनेटपछि उनले अर्को सन्दर्भमा भनेका थिए, ‘र हामी लड्नेछौँ। हामी पूर्ण शक्तिका साथ लड्नेछौँ।’
तर, बीबीसीको ‘पेनोरामा’ कार्यक्रममा देखाइएको क्लिपमा यी दुई फरक समयका वाक्यलाई एकै ठाउँमा जोडेर देखाइएको थियो: ‘हामी क्यापिटलसम्म जानेछौँ... र म तपाईँहरूसँगै हुनेछु। र हामी लड्नेछौँ। हामी पूर्ण शक्तिका साथ लड्नेछौँ।’
बीबीसीले स्वीकार गरेको छ कि यसरी जोडेर देखाउँदा ट्रम्पले मानिसहरूलाई सिधै हिंसाका लागि उक्साएको भन्ने ‘गलत धारणा’ बनेको थियो।
यो डकुमेन्ट्री सन् २०२४ को अमेरिकी चुनावअघि बेलायतमा प्रसारण भएको थियो। यस प्रकरणमा बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले गत महिना राजीनामा दिएका थिए।
पुष १, २०८२ मंगलबार ०८:३८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।