सामाजिक सञ्जालको प्रेमले भारत पुर्याउँदै किशोरी, विवाहको बहानामा बेचबिखनको जोखिम उच्च
बाँके : सामाजिक सञ्जालमार्फत चिनजान र प्रेम सम्बन्ध गाँसिएका भारतीय नागरिकसँग विवाह गर्न भन्दै नेपाली युवतीहरू भारत जाने क्रम बढेसँगै मानव बेचबिखनको जोखिम ह्वात्तै बढेको छ।
परिवारलाई जानकारी नदिई भागेर भारत जाने यस्तो प्रवृत्तिका कारण किशोरी तथा युवतीहरू बेचबिखनको उच्च जोखिममा परेको सरोकारवालाहरूले बताएका छन्।
चार दिनअघि मात्रै भारतको सिमला जान लागेका दाङ र अर्घाखाँचीका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकाबाट उद्धार गरिएको छ।
मानव बेचबिखनविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्रका प्रतिनिधिले शंका लागेर सोधपुछ गर्दा उनीहरू सामाजिक सञ्जालको प्रेमका आधारमा विवाह गर्न भारत जान लागेको खुलेको थियो।
उद्धार गरिएकामध्ये दाङकी युवती १५ वर्षकी नाबालिग छिन् भने अर्घाखाँचीकी युवती २२ वर्षकी छिन्।
केन्द्रकी संयोजक सम्झना चँदाराका अनुसार उनीहरू सामाजिक सञ्जालमा चिनजानकै भरमा घरपरिवारलाई थाहा नदिई हिँडेका थिए। दाङकी किशोरीलाई अभिभावकको जिम्मा लगाइएको छ भने अर्घाखाँचीकी युवतीलाई पारिवारिक पुनर्मिलनको तयारी भइरहेको छ।
नेपाली महिला नै बन्छन् बिचौलिया
नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीका अनुसार यो धन्दामा कतिपय अवस्थामा भारतमा विवाह गरेर बसेका नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेका छन्।
‘भारतमा रहेका महिलाले सामाजिक सञ्जालमार्फत नेपालका चिनजानका युवतीलाई जोड्ने र विवाहका लागि भारत बोलाउने गरेको पाइएको छ,’ पुरीले भनिन्, ‘यसबापत उनीहरूले आर्थिक लाभ लिने भएकाले आफ्नै देशका चेलीहरू जोखिममा परिरहेका छन्।’
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले दलालहरूले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेको बताए।
‘सामाजिक सञ्जालको क्षणिक आकर्षण र प्रलोभनमा परेर भाग्दा उनीहरू बेचबिखनको पासोमा पर्छन्’, उनले भने।
शान्ति पुनःस्थापना केन्द्रले मात्रै गत आर्थिक वर्षमा नाकाबाट ३९९ जनाको उद्धार गरेको थियो। जसमध्ये ३०३ जनालाई सिधै अभिभावकको जिम्मा लगाइएको थियो भने ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पुर्याइएको थियो।
राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले प्रविधिको दुरुपयोगले निम्त्याएको यो जोखिम न्यूनीकरण गर्न सीमा नाकामा कडाइ र जनचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
हाल जमुनाह नाकामा माइती नेपाल, साथी संस्था लगायतका एक दर्जन संघसंस्थाले निगरानी र उद्धारको काम गर्दै आएका छन्।
पुष १, २०८२ मंगलबार ०८:०४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।