श्रोता रुवाएर चर्चित भएका गायक थानेश्वर गौतम: "पीडा त मभित्र पनि छ नि, त्यही स्वरबाट बाहिर निस्किएका हुन्"

श्रोता रुवाएर चर्चित भएका गायक थानेश्वर गौतम:

‘गाजल लगाइनछौ’ होस् या ‘छुट्नलाई पो रैछ सानु’, वा ‘बेचेर सपना मैले रात किनेको छु’ अनि ‘तिम्रा यादहरू’बोलको गीतसँगै टाउको हल्लाउँदै हार्मोनियम बजाउने एक छवि आँखामा नाच्छ। ती व्यक्ति हुन् गायक तथा सङ्गीतकार थानेश्वर गौतम।

१० वर्षदेखि सङ्गीतको कर्ममा संलग्न उनका जति गीत लोकप्रिय छन्, त्यसको तुलनामा उनी हल्का छायामा हुन् कि जस्तो देखिन्छन्। उनले गीतको परिचय हैन, उनका गीतले उनको परिचय बोकेको अनुभव हुन्छ। अपरिचित झैँ लाग्नेहरूका लागि पनि जब उनले माइक समातेर गीत गाउन थाल्छन् परिचित भइहाल्छन्।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’मा समावेश ‘रात किन हुन्छ हजुर, दिन किन हुन्छ?’ बोलको गीतले त तहल्का नै पिट्यो। फिल्म चल्नुमा फुटबलर एञ्जिलाको दुखद विगतको जति प्रभाव थियो, उनको गीतको पनि त्यति नै प्रभाव देखियो। यही गीतको प्रभावले हलसम्म आएका दर्शकहरू टन्नै भेटिएका थिए।

लोकगीतमार्फत गायन यात्रा थालेका उनलाई लोकगीत खासै फापेको देखिँदैन। गीत त चल्यो तर उनी चल्न सकेनन्। जब उनले शास्त्रीय सङ्गीत र गजलशैलीका गीत गाउन थाले, तब भने उनी छिट्टै अलग पहिचान बनाउन सफल भए।

आफ्नै व्यक्तिगत युट्युब च्यानलमा आफ्ना गीत राख्दै आएका उनको उत्कृष्ट गीतको सूचीले पनि त्यही देखाउँछ। एक करोड ८९ लाख पटक हेरेर पहिलो सूचीमा रहेको गीत शास्त्रीय आलापसहितको ‘छुट्नलाई पो रैछ क्यारे सानु’ बोलको गीत छ।

लोक होस् या गजल त्यसमा चट्ट शास्त्रीय शैली मिसाउन उनी सिपालु छन्। त्यसमा बिचबिचमा आफ्नै शैलीका शब्दको प्रयोग गर्छन् उनी। उनको यही शैलीका कारण उनको गायन शिल्पको प्राज्ञिक अध्ययन समेत भएको छ।

एमफिल र पिएचडीको सोधकर्ता प्रभा बर्तौलाले जर्नल अफ डेभलेपमेन्ट रिभ्युमा उनको यही गायनशैलीबारे गरेको अध्ययनमा ‘बेचेर सपना मैले रात किनेको छु’ गजलमा उनले राग भूपालिमा गण्डकी र धौलागिरि अञ्चलमा प्रचलित लोक झ्याउरे भाका समेत मिसाएको उल्लेख गरेकी छिन्। 

संगीतबारे पिएचडीको तयारी गरिरहेका उनै गायक गौतमसँग उनको साङ्गीतिक यात्रा, र मेला महोत्सवको व्यस्ततामा केन्द्रित भएर उकेराकर्मी भोला अधिकारीले गरेको संवादको सम्पादित अंश :

पछिल्लो समय मेला र महोत्सवमा खुबै छाउनु भएको छ त। दिन फिर्यो है तपाईँको नि?

अँ, अहिले मेला महोत्सवमा जाने-आउने क्रम जारी छ। अब जीवनको कर्म नै यही भएपछि त आएको निमन्त्रणा स्विकार्नै पर्यो। अनि यो माया पनि हो। मेला अनि महोत्सव भनेको सङ्गीतप्रेमीहरूसँग प्रत्यक्ष जोडिने मौका पनि हो।

मेला महोत्सवलाई त रमाइलो मुड बनाउनेनचाउने गीत सङ्गीतको माग हुने ठाउँको रूपमा लिइन्छ। तरतपाईँको त रुवाउने गीत बढी छन्। मेलामा दर्शक रुन पनि आउने रहेछन्?

सङ्गीत भनेको अन्तर हृदयलाई खुसी बनाउने तत्त्व हो। मेला अनि महोत्सव भन्दैमा नाच्ने विषयसँग मात्रै सरोकार रहँदैन। नाच्ने गीत त चाहियो नै, मैले नाच्ने/नचाउने गीत पनि गाउँछु। तर दर्शक अनि श्रोताको हृदयसँग सम्बन्ध बनाउन भावुकताले पनि प्रभाव पार्छ। मैले भावुक गीतहरू गाउँदा उहाँहरू (दर्शक) सँगसँगै गाउनु पनि हुन्छ। आत्मासँग सम्बन्ध बनेपछि दर्शक र श्रोता आनन्दित हुनुहुन्छ। यसमै मलाई पनि रमाइलो लाग्छ।

लोकगीतबाट एकै पटक भावुक अनि त्यसमा पनि गजल र शास्त्रीय सङ्गीतमा केन्द्रित भएको देखिन्छ। यो परिवर्तनको कारण के हो?

सङ्गीतसँगको मेरो सम्बन्ध जन्मजात नै भन्दा पनि फरक पर्दैन। मैले अभ्यास त गरेँ नै, सँगै सङ्गीत विषयमा अध्ययन पनि गरेँ। मेरो स्नातकोत्तर सङ्गीत विषय नै हो। अब यही विषयमा पिएचडीको तयारी गरिरहेको छु। अभ्याससँगै अध्ययन पनि हुँदा मलाई अलि सहज भयो।

सङ्गीत साधना गर्ने अनि सिक्ने विषय हो भन्ने सुनिन्छ। तपाईँ औपचारिक अध्ययनमा पनि हुनुहुन्छ। यो कतिको जरुरी छ?

जुनसुकै विषयमा पनि गहिरो रूपमा बुझ्न, सांस्कृतिक रूपमा अगाडि बढ्न औपचारिक अध्ययन गर्न जरुरी छ। तर, सबैले पढ्नै पर्छ भन्ने छैन। कसैमा जन्मजात गाउन सक्ने खुबी पनि हुन सक्छ। त्यो क्षमतासँगै औपचारिक ज्ञान पनि भयो भने सुनमा सुगन्ध भने जस्तै हुन्छ। आफ्नो क्षेत्रबारे व्यावहारिकसँगै औपचारिक ज्ञान पनि हुन्छ।

अब पुनः मेला महोत्सव अनि गीत रेकर्डिङतिरै फर्किऊँ है त। पछिल्ला समय तपाईँका फिल्मका गीत एकपछि अर्को आइरहेका छन्। मेला महोत्सवमा पनि उत्तिकै खटिएको देखिन्छ। कसरी भ्याइन्छ?

समय त जति भए पनि पुग्दैन। तर, व्यवस्थापन गर्ने हो। यता रेकर्डिङलाई सन्तुलनमा राख्दै, मेला महोत्सवमा पनि जान सकिन्छ। मेला/महोत्सव केवल अर्थसँग मात्र जोडिँदैन। यो आफ्ना दर्शक अनि श्रोतासँग प्रत्यक्ष जोडिन, आफ्नो सिर्जनाप्रति उनीहरूको प्रतिक्रिया प्रत्यक्ष अनुभव गर्न सबैभन्दा प्रभावकारी माध्यम हो।

दर्शकसँग जोडिँदा, प्रत्यक्ष गाउँदा, भेटघाट गर्दा अझ नजिक हुने मौका मिल्छ। यता चलचित्रका गीतहरूले दर्शक अनि श्रोतासम्म पुर्याउने माध्यमको काम पनि गर्छ।

यसैमा अञ्जिलाको प्रसङ्ग जोडौँ न। यो गीतको लोकप्रियतापछि मेला/महोत्सवमा अलि माग बढेको जस्तो देखिन्छ। हो?

‘अञ्जिला’ फिल्मको गीत ‘रात किन हुन्छ हजुर दिन कि हुन्छ’ दर्शकहरूसँग जोड्ने माध्यम बनेको हो। यसले दर्शकसँग मेरो निकट सम्बन्ध बनायो। उहाँहरूले यसलाई आफ्नै जीवनको गीत सम्झिनुभयो।

महोत्सवमा प्रारम्भ गर्ने गीत चाहिँ प्रायः कुन हुन्छ?

सबै ठाउँमा एउटै खालको माहोल हुँदैन। माहोल अनुसार दर्शक अनि श्रोतालाई ‘कनेक्ट’ गराउनुपर्छ। तर, प्रायः ‘स्लो’ गीतबाट नै सुरु गर्छु।

कहिले ‘छुट्नलाई पो रैछ सानु, तिम्रो मेरो यति धेरै माया बसेको’ गाउँछु। कहिलेकाहीँ दर्शकहरूलाई पनि सोधिन्छ कुन गाउँ भनेर। ‘रात किन हुन्छ’ अनि ‘बेचेर सपना मैले’ को पनि माग आउँछ।

जीवनको गतिमा कुनै न कुनै टर्निङ पोइन्ट हुन्छ नै। तपाईँको हकमा कुन गीत टर्निङ पोइन्ट’ हो जस्तो लाग्छ?

‘फास्ट बिट’को गजल गायनमा ‘बिर्सिएर श्रृँगारमा गाजल लगाइनछौ’ले मेरो साङ्गीतिक यात्रामा ‘टर्निङ पोइन्ट’को काम गरेको अनुभव हुन्छ। गजल गायनमा यसले मेरो अलग छविको निर्माण गरेको अनुभव गरेको छु।

त्यसपछि शास्त्रीय शैलीमा लोक सङ्गीतको संयोजन गरेर गाएको ‘छुट्नलाई पो रैछ सानु’ गाएपछि ‘स्लो भर्सन’मा एउटा ट्रेन्ड नै बनेको जस्तो लाग्छ। फरक विधामा यी दुई नै टर्निङ पोइन्ट हो जस्तो लाग्छ।

गाजल लगाइनछौको सिर्जनाको पृष्ठभूमि खुलाइदिनु न।

यो गीत पुरु लम्सालजीले लेख्नुभएको हो। उहाँ मेरो निकै अगाडिदेखिको साथी। हाम्रो भेटमा गीत-सङ्गीतबारे छलफल भइरहन्थ्यो।

पुरुजीले एक दिन बिहानै साढे ५ बजेतिर कल गरेर “थानेश्वर जी, मैले यस्तो खालको गीत लेखेँ, के हो त?” भन्नुभयो। मैले “ल आउनुहोस्” भने। उहाँ पनि तुरुन्तै मेरोमा आउनुभयो।

हामी हार्मोनियम समातेर ट्युनिङ तयार पार्न थाल्यौँ। यो गीत रेकर्डिङको समयमा म म्युजिक क्लास पनि लिन्थेँ। कम्पोज गर्दा एउटा मजा आउने खालको सङ्गीत तयार भयो। त्यसपछि रेकर्डिङको प्रक्रियामा गइयो। एरेन्ज गर्ने, गाउने क्रममा एउटा माहोल तयार भइसकेको थियो। त्यतिबेला आलोक नेम्वाङले भिडियो पनि एकदमै राम्रो बनाइदिनुभयो। अभिनेता पुष्प खड्का र निता ढुङ्गानाको अभिनयले पनि गीतलाई जीवन्त बनायो।

मेला/महोत्सवमा एक पटकमा कतिवटासम्म गीत गाउन भ्याइन्छ?

यति नै गाउँछु भन्ने त हुँदैन। माहोल अनि समयमा भर पर्छ यो। सामान्यतया १०–१२ वटासम्म गाउँछु। यति गाउँदा नै एक डेढ घण्टाको समय गइहाल्छ।

अलिक बढी कुन गीतको माग आउँछ?

पहिला ‘गाजल लगाइन छौँ’ कै आउँथ्यो। अहिले अलि फरक छ। यतिबेला चर्चामा रहेको गीत ‘रात किन हुन्छ हजुर’, ‘छुट्नलाई पो रैछ’ को अलिक बढी माग आउँछ। ‘छुट्नलाई पो रैछ’ त मैले एकै मञ्चमा धेरै पटक गाएको अनुभव छ। जति गाए पनि दर्शकको मन नअघाएपछि गाउनै पर्छ।

केही गायक/गायिकाको मेलाको दृश्य हेर्दा दर्शक पूरै रोएर भाइरल भएका क्लिप देखिन्छन्। यसमा तपाईँको अनुभव?

मेरा गीतहरू नै त्यस्तै भएर होला यस्ता अनगिन्ती अनुभव छन्। पोहोर बुटवलमा स्टेजमा गीत गाउँदा गाउँदै एक जना ‘माइला बा’ भन्ने कलाकारले अभिनय गरिदिनुभएको थियो। त्यो समयमा म स्टेजबाट तल झरेर गीत गाइरहेँ। दर्शकहरू रोएर, हात छोएर, कसैले ‘थानेश्वर गौतम आई लभ यु’ लेखेको प्लेकार्ड नै बोकेर आउनुभएको थियो। मैले गीत गाउँदा प्रायजसो रुनुहुन्छ।

भनेपछि अरूलाई आफ्नो सङ्गीतले रुवाएर खुसी हुने गायक भन्नुपर्ने देखियो त?

त्यस्तो पनि होइन। मभित्र पनि आफ्नै पीडाहरू छन्। आफूभित्र पनि त्यो दर्द छ। आफूभित्र त्यस्तो दर्द नभई ती भावहरू बाहिर आउन सक्दैनन्। मेरा पीडा गीतमार्फत भन्दा दर्शक अनि श्रोताको मन छोएको हो। हाम्रो भावना एकै भएको हो नि।

अन्त्यमा, तपाईँ आफैँले गाएको फिल्मको गीत आधा आधि सपना भैदिएन पुरा’ को सुटिङ गर्दा मञ्चमै बेहोस भएको क्लिप पूरै भाइरल भएको थियो नि। कतिले गीत चलाउन चर्चाका लागि गरिएको नाटक भनेर आलोचना गरेको पनि देखिन्छ। यो सत्य हो?

सत्य नै हो त्यो। त्यो दिन दिनभरिको थकानमा थिएँ म। दिनभरि गीत रेकर्डिङमा थिएँ। अनि राति १२–१ बजेसम्म पनि सुटिङ थियो। अर्धनिद्रा पनि थियो। आधा गीत ‘स्याड भर्सन’को थियो।

त्यो भावना हो या के थियो, कुन ‘सिक्वेन्स’मा पुगियो, थाहा भएन। त्यस्तै भयो। तर तत्कालै उठेर काम गरेँ मैले।

मंसिर २९, २०८२ सोमबार १९:१०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।