कृष्णगोपाल श्रेष्ठ : ओ‌लीका खास, महाधिवेशनबाट पोखरेल कहाँ बास !

कृष्णगोपाल श्रेष्ठ : ओ‌लीका खास, महाधिवेशनबाट पोखरेल कहाँ बास !

काठमाडौं : लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउमा 'ढाल' बनेर उभिने नेता कृष्णगोपाल श्रेष्ठले अन्ततः नेतृत्वविरुद्ध विद्रोह गरेका छन्। पार्टीको ११ औँ महाधिवेशनमा उनले अप्रत्याशित रूपमा ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दर्ता गराए। 

उम्मेदवारी दर्तासँगै सञ्चारकर्मीहरूसँग श्रेष्ठले पार्टी संस्थापनमा हुर्किएको 'दम्भ र अहंकार' विरुद्ध आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन्। कुनै समय ओलीको हरेक कदमको बचाउमा ओर्लिने उनले महाधिवेशन स्थलमा ओलीको कार्यशैलीप्रति आक्रोश पोखे। पार्टीभित्र मन पर्दा जे पनि गर्ने, तर मन नपर्दा सक्षम कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति हाबी भएको उनको भनाई थियो। 

श्रेष्ठले भने, 'आफूलाई मन परे जे पनि गर्ने र मन नपर्दा योग्य र सक्षम कार्यकर्तालाई पनि लतार्ने र घिसार्ने जुन प्रवृत्ति रह्यो, हाम्रो उम्मेदवारी त्यही प्रवृत्ति विरुद्ध हो।' एमालेलाई विधि, प्रक्रिया र संस्कारयुक्त पार्टीमा रूपान्तरण गर्न पोखरेलको नेतृत्वमा आफूहरू अघि सरेको उनको भनाई थियो। 

उनले तत्कालीन मालेलाई आजको एमाले बनाउन ईश्वर पोखरेलको भूमिका 'आर्किटेक्ट' को जस्तो रहेको स्मरण गरे। नेतृत्वले पोखरेलमाथि अन्याय गरेको उल्लेख गर्दै उनले भने, 'एमालेलाई यो स्थितिमा ल्याउन उहाँको भूमिका महत्त्वपूर्ण छ। तर उहाँलाई नै जसरी अपमान र उपेक्षा गर्ने काम भयो, यो अहंकार, दम्भ र घमण्डी प्रवृत्तिको विरोधमा हामी उभिएका हौं।'

विगतमा ओलीमाथि प्रहार हुँदा सबैभन्दा पहिले बचाउमा उत्रिने नेताका रूपमा चिनिने श्रेष्ठ पोखरेलको टिमबाट चुनावी मैदानमा होमिएपछि एमाले वृत्तमा चर्चाको माहोल बनेको छ। उनीसहित धेरै नेताहरूले संस्थापन पक्षबाट विद्रोह गरेर बाहिरिएका छन्। जसले एमालेको आन्तरिक समीकरण र लामो समयदेखिको गुटगत वफादारीमा ठूलो फेरबदल आएको देखिन्छ।

मंसिर २९, २०८२ सोमबार १८:४९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।