एमाले नेता भट्टराईको दाबी : ‘जेनजी’ आन्दोलनलाई सम्बोधन गर्न विधान संशोधन गर्‍यौं

एमाले नेता भट्टराईको दाबी : ‘जेनजी’ आन्दोलनलाई सम्बोधन गर्न विधान संशोधन गर्‍यौं

काठमाडौं : एमाले नेता विशाल भट्टराईले जेनजी पुस्ताको भावना र आन्दोलनलाई सम्बोधन गर्न पार्टी विधान संशोधन गरेको दाबी गरेका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग उनले ४० वर्ष मुनिका युवालाई नेतृत्व तहमा सुनिश्चित गर्न पार्टीले संरचनागत परिवर्तन गरेको प्रतिक्रिया दिए।

समसामयिक घटनाक्रमलाई गम्भीरतापूर्वक समीक्षा गर्दै त्यसबाट पाठ सिक्नुपर्नेमा पार्टी स्पष्ट रहेको उनको भनाई थियो। तीन महिनाअघि गरिएको विधान संशोधनको मुख्य उद्देश्य नै नयाँ पुस्तालाई पार्टीको निर्णायक तहमा जोड्नु रहेको भट्टराईको भनाई छ।

जिम्मेवारी र कमिटीहरूको आकार बढाउनुको कारण खुलाउँदै उनले भने, 'हामीले तय गरेका जिम्मेवारीहरू वा पदहरू, कमिटीहरूलाई अलिकति 'एक्सटेन्सन' गरेका छौं। कारण हो, देशभरिका प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट चुनिएर आएका ४० वर्ष मुनिका युवाहरूलाई नेतृत्वमा पुर्याउनुपर्छ भनेर हामीले छुट्टै 'क्लस्टर' खडा गरेका छौं।'

पूर्वीय दर्शनले विभिन्न पुस्ताको सहकार्यलाई महत्त्व दिने उल्लेख गर्दै भट्टराईले अब एमालेले पनि तीन पुस्ताको संयोजनका आधारमा संगठनलाई अगाडि बढाउन खोजेको बताए। 'हामीले नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ र उनीहरू निर्णायक तहमा पुग्नुपर्छ भन्ने कुरालाई पूर्ण रूपमा आत्मसात् गरेका छौं,' उनले भने, 'यो महाधिवेशन र विधान संशोधनमार्फत हामीले जेनजी आन्दोलनले उठाएका विषयलाई सम्बोधन गर्ने क्रममा यो भएको हो।'

मंसिर २९, २०८२ सोमबार १७:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।