‘बिगुल’को निर्देशकसँग बेनिशाको आक्रोश, फिल्ममा नभएको कुरा टिजरमा देखाएको आरोप
काठमाडौं : २१ घण्टाअघि सार्वजनिक भएको रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म ‘बिगुल’को टिजरले दर्शकको अपेक्षित साथ पाउन सकेको छैन। युट्युबमा रिलिज भएको यो टिजरलाई १० हजार भ्युज कटाउन पनि हम्मे-हम्मे परेको छ। यो समाचार तयार पार्दासम्म टिजर जम्मा १० हजार पटक मात्र हेरिएको छ।
टिजरले भ्युज मात्र नभई लाइक र कमेन्ट पनि न्यून मात्रामा पाएको छ। टिजरमा ३८ कमेन्ट र ३ सय ४४ लाइक प्राप्त भएको छ। जसले फिल्मप्रति दर्शकको चासो न्यून रहेको प्रष्ट पार्छ। कमेन्ट गर्ने सीमित दर्शकले बेनिशाको तारिफ गरेका छन् भने केहीले निर्माताको लगानी डुब्ने चिन्ता व्यक्त गरेका छन्।
फिल्मको ट्रेलरले राजनीतिक विषय वस्तु बोकेको देखिन्छ। त्यस टिजरको अन्तिममा निर्देशक कोइरालाले बठ्याइँ गरेका छन्। उनले जेन्जीको कथालाई टिजरमा वाचन गरेपछि अभिनेत्री बेनिशा हमाल फायर भएकी छन्। खासै कुनै विषयमा नबोल्ने र सामाजिक सञ्जालमा आक्रोश नपोख्ने बेनिशाले यो फिल्मको आफू हिस्सेदार नबन्ने र हुँदै नभएको विषयवस्तु राखेको दाबी गरेकी छन्।
उनी भन्छिन्,‘परिस्थिति जस्तोसुकै भए पनि, मैले सधैँ मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु। एक कलाकारको हैसियतले के साझा गर्ने र के नगर्ने भन्ने सीमाना मलाई स्पष्ट छ। फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु। यदि फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टीजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ।’
बेनिशाका अधिकांश फिल्म असफल छन्। उनी अभिनीत फिल्म ‘छक्का पञ्जा ४’र ‘मोहर’ले बाहेक ‘झ्यानाकुटी’,‘घर’,‘ब्लाइण्ड रक्स्’,‘कालो पोथी’देखि ‘उपहार’,‘सिटामोल’सम्म आइपुग्दा व्यावसायिक सफलता हासिल गर्न सकेको देखिँदैनन्। तर उनको अभिनयले भने दर्शक माझ राम्रै छाप छोडेका छन्।
मंसिर २९, २०८२ सोमबार १५:१८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।