एक हप्तामा ‘परान’ को कमाइ ४१ लाखले बढ्यो, कुल आम्दानी साढे १७ करोड नजिक
काठमाडौं : चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार चलचित्र ‘परान’ को व्यापारमा निरन्तर वृद्धि देखिएको छ।
बोर्डले सार्वजनिक गरेको मंसिर २७ गतेसम्मको तथ्याङ्कलाई अघिल्लो साता (मंसिर २० गते) को तथ्याङ्कसँग तुलना गर्दा फिल्मको आम्दानी र दर्शक सङ्ख्यामा सुधार देखिएको हो।
मंसिर २० गते शनिबारसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ रुपैयाँ कमाइ गरेको चलचित्र ‘परान’ ले एक हप्तामा आफ्नो कुल कमाइ १७ करोड ३९ लाख ४९ हजार ५०९ रुपैयाँ पुर्याएको छ।
तथ्याङ्क अनुसार यो एक हप्ताको अवधिमा चलचित्रले थप ४१ लाख ५६ हजार १५५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यस्तै, टिकट बिक्रीतर्फ हेर्दा एक हप्तामा थप १४ हजार ४९९ जना दर्शकले यो चलचित्र हेरेका छन्। मंसिर २० गते ५ लाख ९८ हजार रहेको टिकट बिक्री सङ्ख्या बढेर ६ लाख १२ हजार ८०८ पुगेको छ।
यता चलचित्र ‘हर्ष’ को व्यापारमा भने सामान्य वृद्धि मात्र देखिएको छ। मंसिर २० गतेसम्म २८ लाख २ हजार ३४६ रुपैयाँ कमाएको यस चलचित्रले मंसिर २७ गतेसम्म आइपुग्दा २८ लाख ७६ हजार २८६ रुपैयाँ पुर्याएको छ। एक हप्तामा यो चलचित्रले जम्मा ७३ हजार ९४० रुपैयाँको व्यापार गरेको देखिन्छ।
पछिल्लो रिपोर्टमा समावेश चलचित्र ‘अभिमन्यु - च्याप्टर १’ ले भने २१ लाख १० हजार २०५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसका लागि ६ हजार ६८६ वटा टिकट बिक्री भएको बोर्डले जनाएको छ।
मंसिर २९, २०८२ सोमबार १४:०१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।