प्रमाण नष्ट गर्नसक्ने भन्दै अशोक शेरचनलाई जमानीमा छाड्न मानेन सीआईबीले
काठमाडौं : प्रभु बैंकका सीईओ अशोक शेरचनलाई हाजिर जमानीमा रिहा गर्न नेपाल बैंकर्स संघले गरेको आग्रह प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्वीकार गरेको छ।
सोमबार संघका पदाधिकारीहरू सीआईबी कार्यालय पुगेर शेरचन निलम्बनमा परिसकेको र अनुसन्धान प्रभावित नहुने भन्दै आफ्नो रोहवरमा छाड्न आग्रह गरेका थिए।
तर, सीआईबीका अधिकारीहरूले भने गम्भीर प्रकृतिको अनुसन्धान जारी रहेको भन्दै संघको प्रस्ताव अस्वीकार गरेका हुन्।
सीआईबीका अधिकारीहरूले शेरचनमाथि किर्तेसहितका गम्भीर आरोपमा अनुसन्धान भइरहेको र हिरासतमा रहँदा नै प्रमाण नष्ट गर्न वा अनुसन्धान प्रभावित पार्न सक्ने जोखिम रहेको बताएका छन्।
छलफलमा सहभागी स्रोतका अनुसार, सीआईबीले अदालतको आदेशबाहेक शेरचनलाई छाड्न नसकिने स्पष्ट जवाफ दिएको छ।
सीआईबीले बैंकर्स संघका पदाधिकारीहरूलाई शेरचनमाथि लागेका आरोप र फेला परेका प्रमाणबारे जानकारी गराएको थियो।
जसमा गैरकानुनी रूपमा ऋण प्रवाह गरेको, ब्याज असुली नगरेको, किर्ते कागजात तयार गरेको र नेपाल राष्ट्र बैंक ऐन विपरीतका गतिविधि गरेको जस्ता विषयहरू समावेश छन्।
छलफलमा सहभागी एक पदाधिकारीले भने, ‘हामीले ऋण प्रवाहमा मात्र कैफियत देखेर समातेको होला भन्ने ठानेका थियौँ, तर अन्य गम्भीर विषयहरू पनि रहेछन्।’
प्रभु इन्भेस्टमेन्टको विवादमा व्यवसायी देवीप्रकाश भट्टचन र कुसुम लामाविरुद्धको अनुसन्धानका क्रममा सीआईबीले शेरचनसहित बैंकका अन्य पदाधिकारीहरूलाई पक्राउ गरेको थियो। भट्टचन र लामाविरुद्ध भने मुद्दा दर्ता भइसकेको छ।
मंसिर २९, २०८२ सोमबार १२:३५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।