आजको एजेन्डा केपी ओली र राष्ट्र हो, म होइन : रामकुमारी झाँक्री

आजको एजेन्डा केपी ओली र राष्ट्र हो, म होइन : रामकुमारी झाँक्री

काठमाडौं : एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीले आजको दिनमा केपी शर्मा ओली र सिङ्गो राष्ट्र नै मुख्य एजेन्डा भएको बताएकी छन्।

महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले भनिन्, ‘आजको दिनमा एजेन्डा रामकुमारी झाँक्री होइन, केपी शर्मा ओली हो। आजको एजेन्डा मुलुक हो, राष्ट्र हो र नेकपा एमाले हो।’

उनले राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि केपी ओलीको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन्।

‘दृश्य-अदृश्य शक्तिहरू लडिरहेको बेला मूल नेतृत्वको संरक्षण र रक्षा गर्नु प्रमुख दायित्व हो’, उनले भनिन्।

आफू पदाधिकारीमा नउठेको प्रसङ्गमा उनले भनिन्, ‘म मूल पात्र हुँदा पनि होइन, र मेरो दाबी पनि छैन। तर, केपी ओलीलाई भरथेग गर्ने र उहाँमाथि हुने प्रहारहरूलाई रोक्ने काममा म सहयोगी भूमिकामा छु।’

उनले पार्टी कसैले हावा चलाइदिएका भरमा नभई आफ्नो विचार, दर्शन र कार्यक्रमका आधारमा चल्ने स्पष्ट पारिन्।

मंसिर २९, २०८२ सोमबार १२:१७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।