पार्टीलाई ‘अपडेटेड’ र पुनर्व्यवस्थित गर्न मेरो उम्मेदवारी हो : ईश्वर पोखरेल

पार्टीलाई ‘अपडेटेड’ र पुनर्व्यवस्थित गर्न मेरो उम्मेदवारी हो : ईश्वर पोखरेल

काठमाडौं : एमाले वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका आकांक्षी ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।

एमालेको ११औं महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले पार्टीलाई थप सुदृढ र ‘अपडेटेड’ बनाउन आफूले उम्मेदवारी दिन लागेको स्पष्ट पारेका हुन्।

‘प्रतिस्पर्धाको कुरा स्वाभाविक हो। तपाईँहरूलाई अनौठो लाग्ला, तर हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो,’ पोखरेलले भने, ‘अहिले खुला अवस्थामा र जनताको बहुदलीय जनवादबाट निर्देशित पार्टीमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिनु हुँदैन।’

उनले आफ्नो उम्मेदवारी पार्टीमा थप राम्रो काम गर्नका लागि भएको बताए।

पोखरेलले भने, ‘म वास्तवमा पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत, विधि र पद्धति अन्तर्गत ठीक ढंगले चलाउने उद्देश्यसहित मेरो आफ्नो उम्मेदवारी रहनेछ।’

पोखरेलले महाधिवेशन प्रतिनिधिहरूलाई सन्देश दिँदै पार्टीलाई चार मुख्य क्षेत्रमा पुनर्व्यवस्थित गर्नु आवश्यक रहेको औंल्याए।

उनले भने, ‘पार्टीलाई विचारमा, संगठनमा, नेतृत्वमा र कार्य सम्पादन शैलीमा पुनर्व्यवस्थित गर्नुपर्ने जरुरी छ।’

उनले पार्टीलाई समयसापेक्ष र ‘अपडेटेड’ बनाउनका लागि यी चार खम्बामा सुधार आवश्यक रहेको जिकिर गरे।

मंसिर २९, २०८२ सोमबार १२:११:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।