सुनको भाउले रच्यो नयाँ इतिहास : तोलाको २ लाख ६० हजार नाघ्यो

सुनको भाउले रच्यो नयाँ इतिहास : तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ ऐतिहासिक रेकर्ड बनाउने क्रम जारी राखेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ।

बढेको मूल्यअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

यसअघि हिजो सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार मात्रै गत असोज ३१ गते कायम भएको २ लाख ५८ हजारको रेकर्ड तोडिएको थियो भने सोमबार फेरि नयाँ कीर्तिमान कायम भएको हो।

सोमबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ४५ रुपैयाँले बढेर चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ।

आइतबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको हालसम्मको उच्च मूल्य भने गत शुक्रबार कायम भएको ३ हजार ९०५ रुपैयाँ रहेको छ।

मंसिर २९, २०८२ सोमबार ११:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।