चित्रबहादुर कार्की रास्वपा प्रवेश, एमाले वृत्तले लगायो ‘अवसरवादी’को आरोप

चित्रबहादुर कार्की रास्वपा प्रवेश, एमाले वृत्तले लगायो ‘अवसरवादी’को आरोप

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा एमाले रुपन्देहीका सचिव चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

आइतबार आयोजित एक कार्यक्रमका बीच रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका हुन्।

एमाले राजनीतिमा लामो समय सक्रिय रहँदै महत्वपूर्ण अवसर र जिम्मेवारी पाएका कार्कीको दल परिवर्तनलाई रुपन्देहीको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

कार्कीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमन र युवा विद्यार्थीको हत्या भएको भन्दै एमाले परित्यागको घोषणा गरेका थिए।

एमाले नेतृत्वले उनलाई राजीनामा फिर्ता लिएर पूर्ववत जिम्मेवारी सम्हाल्न पटक-पटक आग्रह गरेको थियो। तर, कार्की आफ्नो निर्णयबाट पछि नहटेपछि अन्ततः एमाले रुपन्देहीले उनको राजीनामा स्वीकृत गरेको हो।

कार्की एमालेभित्र निरन्तर अवसर पाउने नेताका रूपमा चिनिन्छन्। २०४६ साल पुस १३ गते एमालेको सदस्यता लिएका उनी २०४९ मा तत्कालीन पर्रोहा गाउँ कमिटी उपसचिव, २०५४ मा सचिव हुँदै इलाका इन्चार्ज र क्षेत्रीय अध्यक्षसम्म बने।

२०७३ सालमा जिल्ला कमिटी सचिवालय सदस्य बनेका कार्की पछिल्लो समय जिल्ला सचिव तथा स्थानीय तह विभाग प्रमुखको जिम्मेवारीमा थिए।

सैनामैना नगरपालिकामा उनी लगातार दुई पटक मेयरको उम्मेदवार बने। २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएर नगरप्रमुखको भूमिका निर्वाह गरे पनि गत निर्वाचनमा भने उनी नेपाली कांग्रेसका फणिन्द्र शर्मासँग पराजित भए।

गत निर्वाचनमा उनले टिकट पाउँदा स्थानीय एमाले नेताहरू खुसीराम चौधरी, नरबहादुर थापा लगायतले असन्तुष्टि जनाएका थिए, जसलाई पछि नेता विष्णु पौडेलले साम्य पारेका थिए।

कार्कीले २०६४ देखि २०७० सालसम्म एमाले उपाध्यक्ष विष्णु पौडेलको स्वकीय सचिवका रूपमा समेत काम गरेका थिए।

रास्वपा प्रवेशसँगै कार्कीमाथि ‘अवसरवादी’ भएको आरोप लाग्न थालेको छ। एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता ओम कार्कीले पार्टीलाई अप्ठ्यारो पर्दा राजीनामा दिएर कार्कीले कायरता देखाएको टिप्पणी गरे।

उनले भने, ‘एमालेबाट विभिन्न पदमा बसेर लाभ लिने तर अप्ठ्यारो पर्दा राजीनामा दिनु अवसरवाद हो।’

राजनीतिक विश्लेषक ऋषि आजादले पनि यस घटनालाई निष्ठाको राजनीतिमा आएको ह्रासका रूपमा विश्लेषण गरेका छन्।

‘अहिले नेताहरू अवसरको खोजीमा आफ्नो निष्ठा र समर्पण त्याग गर्दै गएका छन्। कार्की रास्वपामा जानु त्यसैको परिणाम हो,’ आजादले भने, ‘उनी अवसर नपाएका नेता होइनन्, पार्टीले महत्वपूर्ण जिम्मेवारी दिँदादिँदै पनि थप अवसरको खोजीमा पार्टी त्याग गरेका हुन्।’

कतिपयले उनी पुनः सैनामैनामा नगरप्रमुख बन्ने आकाङ्क्षासहित रास्वपा प्रवेश गरेको चर्चा गरेका छन्।

२०२१ सालमा म्याग्दीमा जन्मिएका कार्की हाल सैनामैना-३ मुर्गियामा बसोबास गर्छन्। कानुनमा स्नातक गरेका कार्कीले २०४८ सालदेखि २०७० सालसम्म शिक्षण पेसा अँगालेका थिए।

जनज्योति निमाविको प्रधानाध्यापक समेत रहेका उनी शिक्षण पेसामै रहँदा पार्टी राजनीतिमा सक्रिय थिए।

कार्कीसँगै एमालेबाट कारबाही प्रक्रियामा रहेका ईश्वरी भण्डारी पनि रास्वपा प्रवेश गरेका छन्। सामाजिक सञ्जालमा पार्टीविरुद्ध टिप्पणी गरेको भन्दै स्पष्टीकरण सोधिएपछि भण्डारीले एमालेबाट राजीनामा दिएका थिए।

मंसिर २९, २०८२ सोमबार ०८:५६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।