चौबिस घण्टामा देशभर २५ विपद्का घटना : २२ स्थानमा आगलागी, ७२ लाखको क्षति

चौबिस घण्टामा देशभर २५ विपद्का घटना : २२ स्थानमा आगलागी, ७२ लाखको क्षति
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर २५ वटा विपद्जन्य घटना भएका छन्।

शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म भएका ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग सम्बन्धित छन्।

प्राधिकरणको विवरणअनुसार रौतहटमा तीन तथा पाँचथर, झापा, कास्की र स्याङ्जामा दुई–दुई स्थानमा आगलागी भएको छ।

यस्तै, मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौं, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक-एक स्थानमा आगलागीका घटना रेकर्ड भएका छन्।

विभिन्न स्थानमा डढेलो, भान्सामा ग्याँस लिक, बिजुली सर्ट हुनुका साथै मानवीय असावधानी र जनचेतनाको अभावमा आगलागी भएको प्राधिकरणले जनाएको छ।

विशेषगरी हिउँदको समयमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा बालबालिकाले खेल्दा आगलागी हुने गरेको पाइएको छ।

काठमाडौंको दक्षिणकाली नगरपालिका-५ स्थित पुरानो दक्षिणकाली जङ्गलमा पनि आगलागी भएको थियो। उक्त डढेलो इलाका प्रहरी कार्यालय फर्पिङको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।

आगलागीबाहेक पाल्पामा पहिरो गएको छ भने मोरङका दुई स्थानमा जङ्गली हात्तीले आक्रमण गरेको छ। हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचा नगरपालिका–१२ मा एक जनाको मृत्यु भएको छ।

समग्रमा पछिल्लो २४ घण्टामा विपद्मा परी एक जनाको मृत्यु र चार जना घाइते भएका छन्। यी विपद्जन्य घटनाबाट करिब ७२ लाख ९०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

मंसिर २९, २०८२ सोमबार ०७:३४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।