शान्ती गुरुङको प्रसव पीडा र खुसी : सानो शरीर देखेर डाक्टरले ‘बच्चा जन्माउन सक्दैनौ’ भने
रिटायर्ड लाहुरे र पस्मिना उद्यमी आमाको कोखबाट जेठी सन्तानको रूपमा सिन्धुपाल्चोकमा शान्ति गुरुङको जन्म भयो। उनीपछि एक बहिनी र दुई भाइ पनि जन्मिए। त्यसपछि आमाको भूमिका उनैले सम्हाल्नुपर्यो।
काठमाडौँ आएर पढ्दै गर्दा उनको सासूलाई उनकी आमा मन परेछ। ‘यति राम्री मान्छेको छोरी पनि राम्री होलान्’ भन्दै सम्धिनी बन्ने प्रस्ताव नै राखेको उनले पछि थाहा पाइन्।
आमाले घरबाटै बाह्रखरी पढ्न सिकाएकी उनलाई पछिसम्म पढाइप्रति छुट्टै मोह भयो। आठ कक्षा पढ्दै गर्दा नै उनकी आमा र सासूले बिहे गरिदिने वाचा गरिसकेका रहेछन्। उनी भने यसबाट अनजान थिइन्। १२ कक्षाको जाँच सकिनासाथ घरमा बिहेको तयारी सुरु भयो।
त्यसबेला आमाबाले छानेको केटासँग बिहे नगर्ने भन्ने चलन नै थिएन। उनले बिहेबारे सोच्न पनि पाइनन्। बिहेकै दिन पहिलो पटक आफ्नो श्रीमान्सँग उनको भेट भयो। बिहे भए पनि पढाइ भने नरोक्ने उनको इच्छा थियो। सोही अनुसार उनले आफूलाई अगाडि पनि बढाइन्।
तर सन्तान भएपछि भने उनले पूर्ण रूपमा आफ्नो पढाइमा बिट मार्नुपर्यो। जसले गर्दा उनले बाहिरी दुनियाँमा काम गर्ने अवसर पनि खोजिनन्। गृहिणी भएर परिवारको र सन्तानको स्याहारमै उनको समय बित्यो। पछिल्लो केही समय भने उनी श्रीमान्को सामाजिक काममा पनि सक्रिय हुन थालेकी छिन्।
आमा बनेको लामो समय आफ्नो पूरा समय एकै ठाउँमा सीमित राखेकी उनले अहिले भने आफ्नो बारेमा पनि सोच्ने समय मिलेको बताउँछिन्। कारण- उनका दुवै सन्तान हुर्किसके, स्नातक तहमा पढ्ने भइसके। उनै शान्तिले ‘उकेरा’को साप्ताहिक स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो सपनासँगै आएको जिम्मेवारीको बिचमा आमा बन्नुको अनुभव यसरी साटिन् :
०००
म सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिए पनि जोरपाटीमा हुर्किएँ। जेठो सन्तान भएकैले जिम्मेवारी के हो भन्ने सानो उमेरमै थाहा पाएँ। दुई-दुई वर्षको अन्तरमा मभन्दा मुनि तीन जना भाइबहिनी जन्मिए। आमाले जन्माउनु भयो, स्याहार भने मैले पनि गरेँ।
आमाले हामीलाई घरमै पढाउनु हुन्थ्यो। त्यसबेला छोरी मान्छे पढ्न जाने भनेर अहिले जस्तो अनिवार्य मानिँदैनथ्यो। त्यसैले म पहिलो पटक सात वर्षको उमेरमा स्कुल गएकी थिएँ। तर आमाले निकै कुरा घरमै सिकाउनु भएको थियो।
म पहिलादेखि नै कसैलाई ‘नाइँ’ भन्न नसक्ने स्वभावकी। ढिला स्कुल गएको भएर पनि होला, मलाई पढ्न निकै मन लाग्थ्यो। काठमाडौँ आएर पढेको पनि हो। छिमेककी मेरी सासूलाई मेरी आमा मन परेछ। ‘सम्धिनी बन्नुपर्छ है’ भन्नुभएछ। आठ कक्षा पढ्दै मेरो बिहे छिनिएको भन्ने कुरा पछि मात्र थाहा पाएँ।
१२ को परीक्षा सकाएर घर आउँदा त धेरै आफन्तहरू भेला भइसकेका रहेछन्। श्रीमान्लाई पनि ‘आफन्तको घर जाने’ भनेर हाम्रो घरमा ल्याउनु भएको रहेछ। त्यसबेला आमाबाले जे भन्नुहुन्थ्यो, त्यही हुन्थ्यो। अहिलेका बच्चाहरू त बरु करियर र भविष्यको बारेमा सोच्छन्। तर मैले सोच्न पाइनँ। बिहे भयो।
मेरा श्रीमान् घरको एक्लो सन्तान। सबैले ‘एक्लो छोराको सन्तान देख्न पाए हुने’ भन्न थाल्नु भयो। तर हामीले सन्तानको बारेमा सोचेकै थिएनौँ।
शरीर देखेर डाक्टरले ‘बच्चा जन्माउन सक्दैनौ’ भने...
बिहे भएको दुई वर्षपछि सन्चो नभएजस्तो लाग्यो। जँचाउन जाँदा गर्भवती भएको खबर पाएँ। त्यसबेला के खुसी, के दुखी? मसँग कुनै प्रतिक्रिया नै थिएन। गर्भवतीको अवधिभर बान्ता भएर खाना नै खान सकिनँ।
कोही मान्छे देखे भने एकदमै इरिटेड हुन्थेँ। कोही पनि देख्न नपरोस् भनेर ढोका थुनेर सुत्थेँ। सुत्न मात्र मन लाग्थ्यो। खान निकै गाह्रो हुन्थ्यो। बेहोस नै भएर स्लाइन पानी चढाउनु परेको थियो। बिहे गर्दा नै जम्मा ४५ केजीकी म, गर्भवती हुँदा घटेर ४० केजीकी भएकी थिएँ।
कमजोरीले मेरो शरीर देखेर डाक्टरले पनि बच्चा जन्माउन सक्दैनौ भन्नुभएको थियो। त्यस्तो भनेपछि गाह्रो भए पनि जबरजस्ती खाने प्रयास गरेँ। नौ महिनासम्म आइपुग्दा बल्ल तौल ५० पुग्न लागेको रहेछ।
चपाउने खाना केही खान मन लाग्दैन थियो। झोल अनि दूध, दही, फलफूलको जुसमै मेरो नौ महिना बित्यो। खाए कि बान्ता हुन्थ्यो। मेरो त शरीरको नसा नसा देख्न थालेको थियो। तर जस्तो भए पनि मेरो बच्चाको तौल भने निकै राम्रो भएछ। खाना नरुचे पनि खाएको सब मलाई भन्दा पनि मेरो बच्चालाई पुगेछ।
मेरो शरीर गर्भवती महिलाको जस्तो नै थिएन। म निकै सानी। पेट मात्र पुक्लुक्क कसौँडी जस्तो भएको थियो। जँचाउन आमाजू दिदीसँग जाँदा उहाँलाई पो ‘हिँड्नुहोस्’ भनेर तानेर वार्डमा लानुभएको अनुभव पनि छ।
एकदम कमजोर भएको कारण मेरो त जिन्दगी नै यसरी नै कट्छ होला भन्ने लागेको थियो। खाना र मान्छे कोही पनि मन नपर्ने। तर दोस्रो सन्तानको समयमा त्यस्तो गाह्रो भएन। जन्म दिने समय नजिकिँदै गर्दा सासू र आमाले पनि धेरै कुरा सिकाउनु भयो। उहाँहरू मेरो साथमै हुनुहुन्थ्यो।
फेरि छोरी भयो भनेर रोएको सुन्दा नरमाइलो लाग्यो
पानी धेरै बग्न थालेपछि भन है भन्नुहुन्थ्यो। श्रीमान्ले पनि मलाई लिएर निकै चिन्ता गर्नु भएको थियो। त्यस्तो अप्ठ्यारो हुँदा आफूलाई नै धेरै सम्झिने रहेछ। कहिले यसबाट बाहिर निस्कन पर्ला भनेर क्यालेन्डरमा चिन्ह लगाएर बस्थेँ।
आफू र सन्तान चाहिँ स्वस्थ हुनुपर्यो भन्ने लाग्थ्यो। अनि नौ महिना भएपछि बेलुकाको पाँच बजेतिर मलाई गाह्रो हुन लाग्यो। पानी पनि बगेपछि हस्पिटल गयौँ। त्यसबेलासम्म हस्पिटलमा निकै हल्लाखल्ला थियो। अरू महिलाहरूको चिच्याहट अनि फेरि छोरी भयो भनेर रोएको देखेँ।
रातिको १२/१ बजे त मैले बाबुलाई जन्म दिएँ। आफन्तहरू भेट्न आउँदा निकै लाज लाग्थ्यो। आमाजू, सासू र आमा देखे पछि जति दुखाइ भए पनि चुप लागेर बस्थेँ। बाबु निकै ठूलो जन्मियो। त्यही भएर पछि टाँका पनि बढी लगाउनु पर्यो भनेर नर्सहरूले भन्नुभएको थियो।
पहिलो पटक बाबुलाई देख्दा म जस्तै मान्छे निस्कियो भन्ने लाग्यो। त्यो पल त वर्णन गर्न पनि सक्दिनँ। म एकदम खुसी थिएँ। त्यो क्षण हरेक महिलाले अनुभव गर्नुपर्छ भन्ने लाग्छ। एउटा महिलाले सबैभन्दा बढी माया संसारमा आफ्नो सन्तानलाई गर्छ भन्ने गरेको पनि त्यही भएर होला।
त्यति सानो नानीहरू आफूभन्दा लाठे (ठूलो) भएको देख्दा अचम्म लाग्छ। सपना जस्तो लाग्छ। समय कति छिट्टै जाने रहेछ। हाम्रा दुवै सन्तानबीच तीन वर्षको उमेर अन्तर छ। म जतिसुकै कमजोर भए पनि मेरा सन्तानहरूले दूध भने मजाले खाएका छन्।
अझ बढी भएर दूध नआउने आमाका बच्चाहरूलाई समेत मैले दूध दिएको छु। अर्को गर्भ रहेपछि दूध सुक्ने भन्ने सुनेको भए पनि मेरोमा त्यसो भएन। ठूलो सन्तानले सात वर्षसम्म र सानोले दश वर्षसम्म दूध खायो। 'दूध आइको आइकै गर्यो' भनेर दूध सुकाउने औषधि समेत खाएँ।
‘दुई/तीन जना सन्तान जन्माउनुपर्छ भन्ने लाग्थ्यो’
माइती पनि नजिक भएको भएर सुत्केरी स्याहार झन् राम्रो भयो। दोस्रो सन्तान पनि हाम्रो बिना योजना नै जन्मिएको हो। दोस्रो सन्तानको रूपमा हाम्रो छोरी भई। उसको समयमा मैले पहिलाको जस्तो अप्ठ्यारो र गाह्रो महसुस गरिनँ।
दोस्रो सन्तान हाम्रो छोरी हुँदै छे भनेर पहिल्यै थाहा थियो। त्यही भएर बाबु पनि निकै उत्साहित थियो। खुसीकै माहोलले पनि उसको समयमा नौ महिना बितेको थाहा नै भएन।
हस्पिटल जानु भन्दा अगाडि पनि म ‘बहिनी ल्याएर आउँछु ल’ भनेर बाबुलाई दूध खुवाएर गएको थिएँ। छोरी जन्मिँदै छे भनेर थाहा पाएपछि जे जति दुःख पीडा पाउनु छ मैले नै भोग्न परोस्, मेरो छोरीले पीडा भोग्न नपरोस् भनेर कामना गर्थेँ।
दुवै सन्तानको स्वभाव पनि खुब मिल्छ। उनीहरूले आफ्नो बाजेबज्यैलाई गरेको माया देखेर गर्व लाग्छ। उनीहरू नै मेरा साथी हुन्। हामीले घरमा सबै कुरा भन्ने माहोल बनाएका छौँ। रमाइलो लाग्छ। उनीहरू त मभन्दा बढी बुझकी (समझदार) छन् जस्तो लाग्छ।
जिम्मेवारी भनेको कहिले पनि नसकिने रहेछ। अब त म सधैँको लागि आमा भएको छु। पछि हजुरआमा पनि भइएला। तर अहिलेसम्मको मेरो मातृत्वको यात्रा निकै रमाइलो लाग्छ। खुसी छु। मलाई जीवनमा पढ्न पाउँदा जति खुसी लाग्थ्यो, अहिले त्यही खुसी आफ्नो बच्चाहरूलाई माया दिन पाउँदा लाग्छ।
मंसिर २८, २०८२ आइतबार २०:५८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।