आफ्नो समूहको नेता व्यवस्थापन गर्न विधान संशोधन गर्दै ‌ओली समूह, बन्द सत्र सरेर १ बजे पुग्यो

आफ्नो समूहको नेता व्यवस्थापन गर्न विधान संशोधन गर्दै ‌ओली समूह, बन्द सत्र सरेर १ बजे पुग्यो

काठमाडौं : विधान संशोधनको प्रस्तावसहितका विषयमा निर्णय गर्न एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। यो १० औँ महाधिवेशनको अन्तिम बैठक हो। ११औँ महाधिवेशनको बन्द सत्रको समय सारेर भृकुटीमण्डपमा बैठक राखिएको हो।

यस अगाडि विधान संशोधन गरेर पदाधिकारी घटाएपछि केपी ‌ओली समूहलाई नेता व्यवस्थापनमा समस्या भएपछि पुन विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने तयारी गरेका छन्। उता ईश्वर पोखरेल समूह भने विधान अधिवेशनबाट पारित भएको विधान संशोधन गर्न नहुने पक्षमा छन्।

तीन महिना अगाडि सम्पन्न भएको विधान महाधिवेशनले पदाधिकारी १९ बाट संख्या घटाएर १५ सदस्यीय र केन्द्रीय कमिटीको आकार समेत घटाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। ११ औँ महाधिवेशनबाट अध्यक्ष, तीन जना उपाध्यक्ष, तीन जना उपमहासचिव, एकजना महासचिव र ७ जना सचिवसहित १५ सदस्यीय पदाधिकारी राख्ने निर्णय भएको थियो।

केन्द्रीय कमिटीको आकार ३ सय १ बाट घटाएर २ सय ५१ कायम भएकोमा आफ्नै समूहका नेताहरू व्यवस्थापनमा समस्या भएपछि ‌ओलीले विधान अधिवेशनले पारित गरेको विधान संशोधनलाई आफू अनुकूल बनाउन लागेका हुन्।

उनलाई अध्यक्षमा ईश्वर पोखरेलले चुनौती दिँदै छन्। आफ्नो समूहका नेता व्यवस्थापन गर्न नसके ईश्वर पोखरेल समूहमा जान सक्ने जोखिम कम गर्न ओली विधान संशोधनमा लागेका हुन्।

शनिवार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गरिएको थियो।  आइतबार बिहान सात बजेबाट बन्द सत्र सुरु गर्ने कार्यतालिका भए पनि बन्द सत्र दिउस १ बजेलाई सारिएको छ।

मंसिर २८, २०८२ आइतबार ११:३४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।