एमाले महाधिवेशनमा बिझिएका दृश्य : र्यालीमा बालबालिकाको प्रयोग, फर्कँदा फोहोरको डङ्गुर
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट काठमाडौं उपत्यका ओर्लिएका नेता तथा कार्यकर्ताहरूको लर्को शनिबार बिहानैदेखि भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानतर्फ सोझियो।
भक्तपुरको चिसो मौसममा पनि बिहानैदेखि सो क्षेत्रको चहलपहल तातेको थियो। आयोजकले मञ्चमा प्रवेश गर्ने नेताहरू र कार्यकर्ताको ओहोरदोहोरका लागि छुट्टाछुट्टै गेटको व्यवस्था गरेको थियो।
भीड बढेपछि सुरक्षा जाँच रोकियो
शनिबार बिहान महाधिवेशन स्थलमा प्रवेश गर्नेहरूलाई मुख्य प्रवेशद्वारमा प्रहरीको कडा जाँचपछि मात्रै भित्र पठाइँदै थियो। सुरुवाती चरणमा सहभागीहरू थोरै हुँदा अनुशासित रूपमा लामबद्ध भएर मूल गेटबाट प्रवेश गरिरहेका थिए र प्रहरीलाई पनि जाँच गर्न सहज थियो।

तर, बिहान साढे ११ बजेपछि नारा, जुलुस र झाँकीसहित एक्कासि एमाले नेता-कार्यकर्ताको ठूलो भीड उर्लिएपछि स्थिति फेरियो। थेगिनसक्नु भीड उद्घाटन स्थलमा ओइरिएपछि प्रहरीको सुरक्षा जाँच प्रभावित बन्यो र जाँच नै रोक्नुपर्यो।
प्रहरीलाई भीड नियन्त्रण गर्न कठिन भएपछि एमालेका स्वयंसेवकहरूले नै भीड व्यवस्थापन र सहजीकरणको जिम्मेवारी सम्हालेको देखियो। आयोजकका अनुसार महाधिवेशनमा १० हजारभन्दा बढी स्वयंसेवक र भीड व्यवस्थापनका लागि मात्रै पाँच सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको थियो।

उद्घाटन सत्रमा करिब ३ लाखको सहभागिता रहने एमालेको दाबी थियो। यकिन तथ्याङ्क नभए पनि कार्यक्रम स्थलभित्र र बाहिर देखिएको बाक्लो भीडले माहोल तताएको थियो।
सुरक्षाकर्मीको कडा पहरा र प्रविधिको प्रयोग
बिहानैदेखि बेलुका कार्यक्रम नसकिएसम्म महाधिवेशन स्थल वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा पहरा दिएका थिए। सम्भावित भिडभाड र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दङ्गा नियन्त्रण पोसाकसहितका सुरक्षाकर्मीहरू तैनाथ थिए। ट्राफिक प्रहरीले सडकमा सवारी चाप पर्न नदिन र महाधिवेशनमा आएका सवारीलाई व्यवस्थित गर्न सक्रियता देखाइरहेका थिए।

महाधिवेशन उद्घाटन स्थलको भित्री र बाहिरी सुरक्षा व्यवस्था अत्यन्त चुस्त पारिएको थियो। अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरूले मञ्चबाट सम्बोधन गरिरहँदा बाहिरी घेरामा करिब एक सय मिटरको दूरीसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार, मञ्च तथा सभा स्थलमा विस्फोटक पदार्थ तथा हतियार पत्ता लगाउन तालिमप्राप्त कुकुर र बम डिटेक्टरको प्रयोग गरी बिहानैदेखि सूक्ष्म जाँच गरिएको थियो। सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउन मञ्च, प्रवेशद्वार र सभा स्थल वरिपरि ५० भन्दा बढी सीसी क्यामरा जडान गरिएका थिए। एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार ती क्यामराहरूबाट एमालेको युवा टोली र सुरक्षाकर्मीले संयुक्त रूपमा निगरानी गरेका थिए।
मञ्चदेखि मैदानसम्म ओलीमय, संस्थापकहरू ‘फाट्टफुट्ट’
सल्लाघारीको तीनकुने क्षेत्रलाई एमालेमय भन्दा पनि ‘ओलीमय’ बनाइएको प्रस्ट देखिन्थ्यो। महाधिवेशन स्थलमा प्रवेश गर्ने जुलुस, झाँकी र र्यालीहरूमा बोकिएका ब्यानर, झण्डा र प्लेकार्डहरूमा पार्टी अध्यक्ष ओलीको तस्बिरको वर्चस्व थियो।
एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी र मनमोहन अधिकारी लगायतका अग्रज नेताहरूको तस्बिर भने ‘फाट्टफुट्ट’ बाहेक देख्न मुस्किल थियो। स्वागतद्वारदेखि मञ्चको सजावटसम्म ओलीकै तस्बिरहरू छ्यापछ्याप्ती थिए।

पार्टीका कार्यक्रमहरूमा अध्यक्ष ओलीबाहेक अन्य नेताको तस्बिर प्रयोग भएपछि, अध्यक्ष ओलीकै चाहनामा केही संस्थापक नेता र अध्यक्षबाहेक अरूको तस्बिर नराख्ने गरी आन्तरिक सर्कुलर नै जारी गरिएको चर्चा कार्यक्रम स्थलमा चलिरहेको थियो।
मध्यान्हमा आफ्ना तस्बिरहरू देखेर मुस्कुराउँदै मञ्च प्रवेश गरेका अध्यक्ष ओलीले रिमोट कन्ट्रोलमार्फत विद्युतीय पाला बालेर र झण्डा फहराएर महाधिवेशनको औपचारिक उद्घाटन गरे। उनले आफ्नो सम्बोधनमा गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा घुसपैठका कारण राज्य संयन्त्र कमजोर बनाइएको भन्दै शान्तिपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने उद्घोष गरे।
समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइए पनि उनीहरू उपस्थित भएनन्। अतिथिहरूका तर्फबाट नेकपाका नेता देव गुरुङ, कांग्रेसका पूर्णबहादुर खड्का, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले सम्बोधन गरेका थिए।
बाजागाजा बजाउन बालबालिकाको प्रयोग
महाधिवेशनको रौनकमा एउटा गम्भीर दृश्य पनि देखियो। राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोगलाई निरुत्साहित गरिए पनि झाँकी र र्यालीमा साना नानीबाबुहरू बाजागाजा बजाउँदै, झण्डा र ब्यानर बोकेर हिँडेको पाइयो।

नेवार, मगर, शेर्पा लगायत विभिन्न जातजातिका झाँकी, पञ्चेबाजा र नौमती बाजासहित विभिन्न भेसभुसामा सजिएर निकालिएका जुलुस कार्यक्रम स्थलमा प्रवेश गरेका थिए।
राजनीतिक कुम्भमेला
शनिबार दिनभर महाधिवेशन स्थल कुनै राजनीतिक सभाभन्दा पनि ‘कुम्भमेला’ जस्तै देखिन्थ्यो। एकातिर मञ्चमा शीर्ष नेताहरूको भाषण गुञ्जिरहेको थियो भने अर्कोतिर चौरमा स्थानीय उत्पादनको व्यापार र खानपान चलिरहेको थियो।

इलामको अकबरे खुर्सानीको अचार, घिउदेखि भक्तपुरको जुजु धौसम्मका स्टलहरूमा सहभागीको भीड थियो। मङ्सिरको जाडोमा घाम ताप्दै सहभागीहरूले महाधिवेशनलाई उत्सवको रूपमा मनाए। कोही बदाम फोड्दै र सुन्तला खाँदै गफिएका थिए भने कोही पुस्तक प्रदर्शनीमा रमाइरहेका थिए।

कतै निःशुल्क खानेपानी वितरण भइरहेको थियो भने कतै कम्युनिष्ट विचारका पुस्तकहरू भुईँमा बिछ्याएर बिक्री गरिँदै थियो। नेपाल रेडक्रस सोसाइटी लगायतले प्राथमिक उपचार र रक्तदानका स्टलहरू समेत राखेका थिए।
साँझको चटारो र फोहोरको डङ्गुर
उद्घाटन सत्र सकिए लगत्तै साँझ परेपछि सहभागीहरूलाई आ-आफ्नो वासस्थान फर्किने हतारो देखियो। कार्यक्रम सकिएपछि चिटिक्क पारिएको मञ्च र स्टलहरू धमाधम भत्काउन थालियो। सहभागीहरू फर्किँदै गर्दा तीनकुनेको मैदान भने प्लास्टिकका बोतल र फोहोरले छपक्कै ढाकिएको थियो।

एमालेका केही स्वयंसेवक फोहोर सङ्कलनमा जुटेको देखिन्थे भने भीड हटेपछि कवाडी मजदुरहरू 'आज त स्वाद पर्यो' भन्दै प्लास्टिकका बोतल बटुल्न व्यस्त देखिए। नेतृत्व चयनका लागि एमालेको यो महाधिवेशन मङ्सिर २९ गतेसम्म काठमाडौंमा चल्नेछ।


मंसिर २८, २०८२ आइतबार ०८:५१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।