लुम्बिनी बन्यो एनपिएल च्याम्पियन, दोस्रो पटक पनि सुदूरपश्चिमको सपना अधुरै

लुम्बिनी बन्यो एनपिएल च्याम्पियन, दोस्रो पटक पनि सुदूरपश्चिमको सपना अधुरै

काठमाडौं : लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि  जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

सुदूरपश्चिम यसपटक पनि उपविजेतामै रोकियो। पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो। यस पटक उपाधिसहित लुम्बिनीले एक करोड १० लाख हात पार्यो। उपविजेता सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो। 

सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए। उनले १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४२ रनको योगदान गरेका हुन्।

यस्तै, डार्शी शर्टले १४ रन बनाए। उनले १३ बलमा तीन चौका प्रहार गर्दै १४ रन बनाए। कप्तान रोहित पौडेलले १६ रन बनाए। उनले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै १६ रन बनाएका हुन्। निरोशन डिक्वेलले ११ रनमा अविजित रहे। यस्तै, सन्दीप जोरा शून्यमा आउट भए।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए। यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन जोडे। उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन्।

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/१० रन जोडे। त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र  कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट हात पारे। यस्तै, टीका भण्डारीले एक विकेट लिए।

यस्तो रह्यो लुम्बिनीको उपाधि यात्रा

प्रतियोगिताको सुरुवाती चरणमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै उपाधिसम्मको यात्रा तय गरेको हो। पहिलो सिजनको अंक तालिकामा पुछारमा रहेको लुम्बिनीका लागि यो सिजनको सुरुवात पनि सुखद थिएन। सुरुवाती चार खेलमध्ये तीन खेलमा हार व्यहोरेपछि लुम्बिनीको प्लेअफ यात्रा कठिन बनेको थियो।

तर, पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेपछि लुम्बिनीको लय फर्कियो। त्यसपछिका लगातार ६ खेलमा अपराजित रहँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको पहिलो पटकमै एनपिएलको उपाधि उचाल्न सफल भयो। यता, लिग चरणमा सर्वाधिक १२ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम भने दोस्रो पटक पराजित भएसँगै उपविजेतामा सीमित भयो।
 

मंसिर २७, २०८२ शनिबार १८:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।