फाइनलमा सुदूरपश्चिम सस्तैमा अलआउट, लुम्बिनीलाई ८६ रनको लक्ष्य

फाइनलमा सुदूरपश्चिम सस्तैमा अलआउट, लुम्बिनीलाई ८६ रनको लक्ष्य

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको चुनौती दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो। सुदूरपश्चिम एनपिएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो।

सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०/१० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। पहिलो ओभरको अन्तिम बलमा विनोद भण्डारी शून्यमा आउट भए देखि नै सुदूरपश्चिमको विकेट झर्ने क्रम रोकिएन।

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरे। ११ ओभरको चौथो, पाँचौँ र छैटौं बलमा क्रमशः सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनीत मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गरेका हुन्। यस्तै शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन तीन तथा तिलक भण्डारीले एक विकेट लिए।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो। सुदूरपश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो भने लुम्बिनी अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको थियो। लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

मंसिर २७, २०८२ शनिबार १७:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।