एमाले महाधिवेशन : भित्र नेताको सम्बोधन, बाहिर सुरक्षाकर्मीको कडा पहरा

एमाले महाधिवेशन : भित्र नेताको सम्बोधन, बाहिर सुरक्षाकर्मीको कडा पहरा

काठमाडौं : भक्तपुरस्थित सल्लाघारीमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरूले मञ्चबाट सम्बोधन गरिरहँदा कार्यक्रमस्थलको बाहिरी सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ। 

सल्लाघारी तीनकुने बाहिर र कार्यक्रमस्थलको वरिपरि करिब १०० मिटरको दूरीसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ। महाधिवेशन उद्घाटन समारोहलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मञ्च तथा सभा स्थलमा बम विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ। बम डिटेक्टर उपकरणको प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा बिहानैदेखि सूक्ष्म जाँच गरिएको छ।

तस्किर : उपेन्द्र खड्का

सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी उद्घाटन स्थलमा तैनाथ गरिएका छन्। सभास्थल, मञ्च, र्याली आउने मार्ग, सडक तथा पार्किङ स्थललगायतका सबै क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

प्रविधिमैत्री सुरक्षा व्यवस्थापनअन्तर्गत उद्घाटन स्थलको मञ्च, प्रवेश द्वार र सभा स्थलको वरिपरि ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएका छन्। एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार, यी क्यामराहरूबाट एमालेको युवा टोली र सुरक्षाकर्मीले संयुक्त रूपमा निगरानी गरिरहेका छन्।

तस्किर : उपेन्द्र खड्का

प्रमुख जिल्ला अधिकारी ढकालले कार्यक्रम स्थल र आसपासमा कहीँ कतै शङ्कास्पद गतिविधि देखिए तत्कालै नियन्त्रणमा लिने गरी सुरक्षा रणनीति अपनाइएको जानकारी दिए। भित्रको भीड व्यवस्थापन र बाहिरको सुरक्षा जाँचलाई सन्तुलित बनाउन बिहानैदेखि विशेष सतर्कता अपनाइएको छ।

तस्किर : उपेन्द्र खड्का

विभिन्न ठाउँबाट निस्केको बाजागाजासहित महाधिवेशन उद्घाटन स्थल पुगेका थिए। नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित मञ्चमा पुगेको थियो। पञ्चैबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए। भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। महाधिवेशन यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ।

तस्किर : उपेन्द्र खड्का

तस्किर : उपेन्द्र खड्का
 

मंसिर २७, २०८२ शनिबार १६:५८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।