सुदूरपश्चिम र लुम्बिनीबीचको उपाधि होड, सुदूरपश्चिमले रोज्यो ब्याटिङ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्ने निर्णय लिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन्।
सुदूरपश्चिमले फाइनल खेलका लागि दुई परिवर्तन गरेको छ। मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा तथा मिलन बोहराको ठाउँमा दीपक बोहरालाई टिममा समेटेको छ। त्यस्तै लुम्बिनीले जेजे स्मिटको स्थानमा मोभिन सुवासिंघालाई खेलाएको छ।
एनपिएलले शनिबार दोस्रो संस्करणमा नयाँ विजेता पाउँदै छ। पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई हराएर जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो। लगातार दोस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिम उपाधिको खोजीमा छ।
एनपिएलको दोस्रो संस्करणमा सुरुआतमा सुदूरपश्चिमले लगातार ६ खेल जितेर गरेको थियो। तर सातौं खेलमा टोली विराटनगर किंग्ससँग पराजित भएको थियो। त्यही विराटनगरलाई क्वालिफायर १ मा पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो।
यता औसत प्रदर्शनका बाबजुत फाइनल पुगेको लुम्बिनी लायन्स पनि उपाधि चुम्ने प्रयास गर्नेछ। लुम्बिनीले लिग चरणको अन्तिम ३ खेल जितेर प्लेअफमा स्थान बनाएको थियो। त्यसपछि टोलीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई क्वालिफायर २ मा विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
मंसिर २७, २०८२ शनिबार १५:४८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।