महाधिवेशन स्थलबाट ओलीको गर्जन : लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र पुराना राजनीतिक दलहरूको सान्दर्भिकता सकियो भन्ने भाष्यलाई पूर्णतः खारेज गरेका छन्। पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा उनले एमाले ‘अजम्बरी’ शक्तिको रूपमा स्थापित भइसकेको दाबी गरे।
साथै उनले एमाले अब ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा अगाडि बढिसकेको बताए। देशमा अस्थिरता र आक्रमणका बीच पनि एमाले नडगमगाएको ओलीको जिकिर छ।
‘जतिबेला देश युद्ध भूमिजस्तै जलिरहेको थियो। आतताहीबाट जलाइएको थियो। जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो,’ उनले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो। पुराना पार्टी सकिए, पुराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो।’
निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमाले आजको अवस्थामा आइपुगेको उनको भनाइ छ। महाधिवेशन स्थलमा रहेको सहभागिता एमालेको वास्तविक शक्तिको सानो झलक मात्र भएको उनको दाबी छ। एमाले सकियो भन्नेहरूलाई महाधिवेशन स्थलको उपस्थिति देखेर मात्र धारणा नबनाउन उनले चुनौती दिए।
ओलीले भने, 'धुवाँ, खरानी र आक्रोशका प्रहार सहँदै नेकपा एमालेको यो जनसागर जो उर्लिएको छ, यसका आधारमा म भन्छु- लोकतन्त्र अजेय छ। एमाले अजम्बरी छ।'
मंसिर २७, २०८२ शनिबार १४:५२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।