टिकट नभएकालाई मैदानमा नआउन प्रहरीको आग्रह
काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले आज हुने नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलका लागि टिकट नभएका दर्शकहरूलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान क्षेत्रमा नआउन आग्रह गरेको छ।
प्रहरीले आज एक सूचना जारी गर्दै फाइनल खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जनाएको छ।
आयोजक संस्थाबाट टिकट सकिएको जानकारी प्राप्त भएको भन्दै प्रहरीले टिकट नपाएका खेलप्रेमीहरूलाई घरमै वा अन्य अनुकूल स्थानमा बसेर खेल हेर्न अनुरोध गरेको हो।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टिकट नभएका सम्पूर्ण खेलप्रेमी महानुभावहरूले आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।’
मैदान बाहिर अनावश्यक भिडभाड हुँदा सुरक्षा व्यवस्थापनमा चुनौती थपिने भएकाले प्रहरीले यस्तो आग्रह गरेको हो। आज कीर्तिपुरमा एनपीएलको दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्।
मंसिर २७, २०८२ शनिबार १२:१६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।