एमाले महाधिवेशस्थल सल्लाघारीमा ‘मेला’को माहोल, अचार र घ्यूदेखि पुस्तकसम्मको व्यापार (तस्बिरहरू)

एमाले महाधिवेशस्थल सल्लाघारीमा ‘मेला’को माहोल, अचार र घ्यूदेखि पुस्तकसम्मको व्यापार (तस्बिरहरू)

भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशन स्थल भक्तपुरको सल्लाघारी, तिनकुनेमा राजनीतिक सरगर्मीसँगै जात्राको झैँ माहोल देखिएको छ।

मञ्चमा राष्ट्रिय राजनीतिक भाषणको तयारी भइरहँदा खुल्ला चौरमा भने कुनै ठूलो मेलाको झल्को दिने दृश्यहरू देखिन्छन्। महाधिवेशन स्थलमा सहभागीहरूका लागि स्वागत सत्कार र व्यापार एकसाथ चलिरहेको छ।

कतै स्वयंसेवक र विभिन्न कमिटीहरूले स्टल नै राखेर सहभागीलाई निःशुल्क खानेपानी वितरण गरिरहेका छन् भने कतै सशुल्क मिनरल वाटर र जुसका स्टलहरू राखिएका छन्।

राजनीतिक विचार र सिद्धान्तका पुस्तकहरूको पनि राम्रै व्यापार भइरहेको छ। भुइँमा पुस्तक बिछ्याएर बिक्री वितरण भइरहेका छन्।

कतिपय स्टलमा पार्टीका दस्तावेज र बुकलेटहरू निःशुल्क बाँडिएको छ भने कतिपयमा कम्युनिष्ट आन्दोलन र विचारसँग सम्बन्धित पुस्तकहरू किनेर पढ्नेहरूको भीड देखिन्छ।

राजनीतिक कार्यक्रम भए पनि यहाँ स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने स्टलहरू पनि प्रशस्तै छन्। भक्तपुरको जगातीस्थित जय शम्भु भक्तपुर जु:जु धौ सेन्टरले आफ्नो स्टल राखेर जु:जु धौ बिक्री गरिरहेको छ।

 

इलामको फाकफोकथुम गाउँपालिका इलामका स्थानीय उत्पादनहरू जस्तै- अकबरे खुर्सानीको अचार, घिउ, चटनी र अर्गानिक खाजाका परिकारहरू बिक्रीमा राखिएका छन्।

मंसिरको जाडोमा घाम ताप्दै सहभागीहरूले महाधिवेशनलाई उत्सवको रूपमा मनाइरहेका छन्। चौरमा बसेर कोही बदाम फोड्दै गफिदैछन् भने कोही सुन्तलाको स्वाद लिँदैछन्।

नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाहरूले प्राथमिक उपचार र रक्तदानका स्टलहरू पनि राखेका छन्।

मंसिर २७, २०८२ शनिबार ११:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।