एनपीएल : फाइनलको टिकटका लागि त्रिविका विद्यार्थी काउन्टर खुल्नुभन्दा सात घण्टाअघि नै लाइनमा

एनपीएल : फाइनलको टिकटका लागि त्रिविका विद्यार्थी काउन्टर खुल्नुभन्दा सात घण्टाअघि नै लाइनमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको फाइनल खेलको टिकट लिन त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू शनिबार बिहान चार बजेदेखि नै लाइनमा बसेका छन्।

आयोजकले सर्वसाधारणका लागि ‘खल्ती’ एपमार्फत अनलाइन टिकट बिक्रीको व्यवस्था गरे पनि त्रिवि अध्ययनरत विद्यार्थीहरूका लागि भने परिचयपत्रका आधारमा भौतिक (फिजिकल) टिकटको व्यवस्था गरेको छ।

उनीहरूले ५० प्रतिशत छुटमा खेल हेर्न पाउँछन्। सोही टिकट प्राप्त गर्न विद्यार्थीहरू मंसिरको चिसोको समेत परबाह नगरी मध्यरातिदेखि नै लाइनमा बसेका हुन्।

बिहान ४ बजेसम्ममा सयौंको सङ्ख्यामा विद्यार्थीहरू लाइनमा बसिसकेको देखिएको छ। यद्यपि, टिकट वितरण गर्ने ‘खल्ती’ को बक्स अफिस काउन्टर भने बिहान ११ बजे मात्र खुलेको छ।

कीर्तिपुर मैदानमा आज दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीबीचको प्रतिस्पर्धाका लागि खल्ती एपमा टिकट खुलेको केही समयमै सोल्डआउट भएको थियो।

सुदूरपश्चिमले पहिलो क्वालिफायर र लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

मंसिर २७, २०८२ शनिबार ११:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।