नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ
एजेन्सी : इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई पक्राउ गरेको छ। यो जानकारी उनको फाउन्डेसनले दिएको बीबीसीले जनाएको छ।
नरगिस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी शहर मसहदबाट अन्य अधिकारकर्मीहरूसँगै पक्राउ गरिएको हो।
यस घटनाप्रति नोबेल कमिटीले गम्भीर चिन्ता व्यक्त गरेको छ। कमिटीले इरानी अधिकारीहरूसँग मोहम्मदीलाई कहाँ राखिएको छ भन्ने जानकारी दिन, उनको सुरक्षा र सम्मान सुनिश्चित गर्न तथा उनलाई बिनाशर्त रिहा गर्न अपिल गरेको छ।
सरकारविरोधी गतिविधि र सार्वजनिक रूपमा गरेको प्रतिरोधका कारण उनलाई सरकारले पक्राउ गरेको हो। उनी हालै एक मानवअधिकारकर्मीको स्मृति कार्यक्रममा सहभागी भई त्यहाँ उठेका विरोधी अभिव्यक्तिसँग जोडिएकी थिइन्।
इरानी अधिकारीहरूले यसलाई ‘राज्य सुरक्षा र सार्वजनिक व्यवस्थामा खतरा’ ठहर गर्दै उनलाई नियन्त्रणमा लिएको बताएका छन्।
अनिवार्य हिजाब, महिलामाथिको दमन र मृत्युदण्डविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी मोहम्मदीलाई यसअघि पनि यस्तै आरोपमा पटक-पटक पक्राउ र सजाय दिइँदै आएको छ।
इरानमा महिलामाथि भइरहेको दमनविरुद्ध सङ्घर्ष गरेको र मानवाधिकारको क्षेत्रमा योगदान पुर्याएको भन्दै मोहम्मदीलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
स्वास्थ्य समस्याका कारण उनलाई सन् २०२४ को डिसेम्बरमा जेलबाट तीन हप्ताका लागि अस्थायी रिहाइ दिइएको थियो।
उनी सन् २०२१ देखि तेहरानको कुख्यात ‘एभिन’ जेलमा बन्दी थिइन्। मोहम्मदीमाथि इरान सरकारले विभिन्न मुद्दामा सजाय तोकेको छ।
मंसिर २७, २०८२ शनिबार ०८:३३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।