आईसीसी र जियोस्टारको स्पष्टीकरण : ३ अर्ब डलरको प्रसारण अधिकार सम्झौता कायमै, बाहिर आएका हल्ला निराधार

आईसीसी र जियोस्टारको स्पष्टीकरण : ३ अर्ब डलरको प्रसारण अधिकार सम्झौता कायमै, बाहिर आएका हल्ला निराधार

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र भारतीय मिडिया कम्पनी जियोस्टारले भारतमा आईसीसीको प्रसारण अधिकार (मिडिया राइट्स) सम्झौता रद्द भएको भनी आएका समाचारहरू पूर्णरूपमा गलत भएको स्पष्ट पारेका छन्।

पछिल्लो समय विभिन्न भारतीय सञ्चारमाध्यममा जियोस्टारले ३ अर्ब डलरको प्रसारण सम्झौताबाट हात झिकेको भनी आएका रिपोर्टहरूबारे ध्यानाकर्षण जनाउँदै दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, 'सञ्चारमाध्यममा आएका रिपोर्टहरूले कुनै पनि संस्थाको आधिकारिक धारणा प्रतिनिधित्व गर्दैनन्। आईसीसी र जियोस्टारबीचको विद्यमान सम्झौता पूर्ण रूपमा लागू छ र जियोस्टार नै भारतमा आईसीसीको आधिकारिक मिडिया अधिकार साझेदार हो।'

जियोस्टार सम्झौताबाट पछि हटेको भन्ने हल्ला निराधार रहेको उनीहरूले दाबी गरेका छन्। जियोस्टारले सम्झौताका सबै सर्तहरू अक्षरशः पालना गर्न प्रतिबद्ध रहेको र आगामी आईसीसी पुरुष टी-२० विश्वकप लगायतका प्रतियोगिताहरूको प्रत्यक्ष प्रसारणमा कुनै अवरोध नहुने स्पष्ट पारेको छ।

के थियो भारतीय मिडियाको दाबी ?

केही दिनअघि भारतीय सञ्चारमाध्यम ‘इकोनोमिक टाइम्स’ लगायतले जियोस्टारले आईसीसीलाई सम्झौताको बाँकी दुई वर्ष निरन्तरता दिन नसक्ने जानकारी गराएको समाचार प्रकाशन गरेका थिए।

आगामी फेब्रुअरी २७ देखि भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुने टी-२० विश्वकपको दुई महिनाअघि यस्तो खबर बाहिरिएको थियो।

मिडिया रिपोर्टमा रिलायन्स इन्डस्ट्रिजको स्वामित्वमा रहेको जियोस्टारले भारी आर्थिक नोक्सानीका कारण सन् २०२७ सम्मको ३ अर्ब डलरको सम्झौता धान्न नसक्ने बताएको उल्लेख थियो। रिपोर्टका अनुसार सन् २०२४ को टी-२० विश्वकप र २०२५ को च्याम्पियन्स ट्रफीबाट कम्पनीले ठूलो घाटा व्यहोरेको छ। 

साथै, खेलकुद प्रसारणमा मुख्य विज्ञापनदाता मानिने ‘रियल मनी गेमिङ’ मा भारत सरकारले प्रतिबन्ध लगाएपछि जियोस्टारको आर्थिक अवस्था थप कमजोर बनेको बताइएको थियो।

समाचारमा जियोस्टार पछि हटेको खण्डमा आईसीसीले २०२६-२९ को साइकलका लागि २.४ अर्ब डलरमा नयाँ बोलपत्र आह्वान गरेको र सोनी पिक्चर्स, नेटफ्लिक्स तथा अमेजन प्राइम भिडियो दौडमा रहेको समेत दाबी गरिएको थियो।

तर, आईसीसी र जियोस्टारले यी सबै दाबीहरूलाई खारेज गर्दै तयारी योजनाअनुसार नै अघि बढिरहेको र यसले दर्शक, विज्ञापनदाता वा साझेदारहरूलाई कुनै असर नपर्ने जनाएका छन्। हाल जियोस्टारले भारत र दक्षिण अफ्रिकाबीचको सिरिज प्रत्यक्ष प्रसारण गरिरहेको छ।

मंसिर २६, २०८२ शुक्रबार २२:४०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।