एमाले सचिवालय बैठक : पदाधिकारीको सङ्ख्या नबढ्ने, अध्यक्ष मण्डलमा सिङ्गो सचिवालय
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ।
सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहने गरी शुक्रबारको बैठकले निर्णय गरेको सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिङ्गो सचिवालय (१९ जना) नै अध्यक्ष मण्डलका रूपमा रहनेछन्।
बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू (दुई हजार १५४) को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ। उक्त नामावली मङ्सिर २७ गते सार्वजनिक हुनेछ।
बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ। सचिवालयले बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कार्यादेश र संविधान विपरीत भएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताए।
मंसिर २६, २०८२ शुक्रबार २२:३१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।