किताब जात्रामा ‘किताबकै अरुचि’ : तीन स्टारले खोले स्कुलका रोचक किस्सा

किताब जात्रामा ‘किताबकै अरुचि’ : तीन स्टारले खोले स्कुलका रोचक किस्सा

काठमाडौं : पर्दामा आफ्नो सशक्त अभिनय र संवादले दर्शकको मन जित्न सफल कलाकारको बाल्यकाल कक्षाकोठामा कस्तो थियो होला ? धेरैलाई लाग्न सक्छ- उनीहरू पढाइमा पनि अब्बल विद्यार्थी थिए होलान्।

शुक्रबार काठमाडौंको 'किताब जात्रा'मा नेपाली फिल्म क्षेत्रका तीन हस्तीले आफ्नो बाल्यकालको त्यो रङ्गिन पाटो उघारे, जहाँ पढाइप्रतिको रुचिभन्दा सिनेमाको संसार बढी प्रिय थियो। उनीहरूले बिना सङ्कोच स्कुलबाट भागेर फिल्म हल पुगेका रोचक किस्साहरू समेत खोले।

नेपालमा अघिल्लो पुस्ताका कलाकारहरू पढाइमा भन्दा अभिनयमा बढी अब्बल मानिन्थे। सेलिब्रेटी भइसकेपछि उनीहरूको शैक्षिक योग्यताबारे आम मानिसले चासो राख्नु स्वाभाविक हो। दर्शकको यही कौतूहल मेटाउने काम शुक्रबार महेन्द्र पुलिस क्लबमा जारी 'किताब जात्रा'को ‘लाइट क्यामरा एक्सन’ सत्रले गर्यो।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री रेखा थापा र हास्य कलाकार दीपकराज गिरी वक्ताका रूपमा थिए। सत्रको नाम 'लाइट क्यामरा एक्सन' भए पनि कार्यक्रम सहजकर्ता नरेश भट्टराईले शैक्षिक अनुभव सुनाउन आग्रह गरेपछि चर्चा पढाइ र बाल्यकालका बदमासीकै भयो।

शिव श्रेष्ठ : स्कुलमा बस्नै सकिनँ

अभिनेता शिव श्रेष्ठले आफूलाई कहिल्यै पढ्न मन नलाग्ने सुनाए। ७२ वर्षीय श्रेष्ठले ६५ वर्षअघिको बाल्यकाल सम्झँदै स्कुलबाट भागेर असनको किलागल डुल्ने गरेको रमाइलो किस्सा सुनाए।

उनले भने, ‘६५ वर्षअघि मलाई जाउलाखेलको सेन्जेभियर्समा बुबाले भर्ना गरिदिनु भयो। अहिलेको जस्तो ड्रेस नै थिएन। शिरदेखि पाउसम्म सेतो पहिरन लगाउने चलन थियो। त्यो देखेपछि त्यहाँ म बस्नै सकिनँ, भागे। धरहरा कहाँ छ भनेर सोध्दै-सोध्दै घरमा आइपुग्थेँ। घरमा किन आइस, छुट्टी छ भनेर सोध्नुभयो, अहँ भने। फेरि पुर्याइदिनुभयो। दोस्रो दिनमा पनि भागेँ। फेरि अर्को दिन स्कुल पुर्याउनु भयो। म टिक्नै सकिनँ।’

हजुरबुबा जागिरको सिलसिलामा विराटनगर गएपछि उनको पढाई विराटनगरको आदर्श माध्यमिक विद्यालयमा भयो। काठमाडौंका स्कुल देखि विराटनगरका स्कुलसम्मका रोचक किस्सा उनले रमाइलो ढङ्गले सुनाए। श्रेष्ठले भने, ‘मैले कुन-कुन स्कुल पढिन होला र? मैले सेन्जेभियर्स, विजय स्मारक हुँदै विराटनगरको आदर्श विद्यालयमा पढे। मैले त्यहाँ पढ्न पाए। तर गज्जबको कुरा के थियो भने अगाडी बेच्नमा बस्नुपर्ने मान्छे पछाडि बस्थेँ।’

आफू पढाइमा कमजोर भएकोले शिक्षकले बोलाउँदा पनि पछाडि बस्ने गरेको उनले सुनाए। पढ्न बस्दा निन्द्रा लाग्ने गरेको सुनाउँदै उनले थपे, ‘अहिले कस्तो लाग्छ भने पढेको भए, अहिलेको भन्दा अझ अब्बल कलाकार बन्थे कि भन्ने लाग्छ।’

दीपकराज गिरी : एउटै कक्षा ३ पटकसम्म दोहोर्याउँथेँ !  

हास्य अभिनेता दीपकराज गिरीको अनुभव पनि शिव श्रेष्ठको भन्दा फरक थिएन। आफूले स्कुलमा भन्दा बढी समय फिल्म हलमा बिताएको र पढ्नभन्दा हेर्न, सुन्न मन पराउने बानी रहेको उनले सुनाए। आफूलाई कहिल्यै पढ्न मन नलागेको प्रसङ्ग सुनाउँदै उनले महिनामा ५-६ दिन मात्र हाजिर हुने गरेको अनुभव साझा गरे।

‘हजुरबुबाले नातिको फिस बुझाउन आउँदा नाति कहिल्यै स्कुलमा भेटिँदैन थियो,’ उनले हाँस्दै भने। पढाइमा निकै कमजोर रहेको कारण एउटै कक्षामा दोहोरिन परेको अनुभव उनले सुनाए।

आफू कस्तो विद्यार्थी रहे भन्नेबारे उनले व्यङ्ग्यात्मक शैलीमा भने,‘सबैलाई थाहा छ,म एकदमै राम्रो विद्यार्थी,होनहार विद्यार्थी, असाध्यै मेहनती थिए। एउटै कक्षामा २ पटक ३ पटक दोहोर्याइरहन्थेँ। त्यस कारण किताब र पढाइको जुन औपचारिक पढाई छ। त्योसँग त्यति राम्रो रहेन।’

स्कुलबाट भाग्ने गरेकाले एक जना शिक्षिकाले हातमा डस्टरले हिर्काएको घटना उनले कहिल्यै बिर्सिन नसकेको सुनाए। यद्यपि, नेपाली विषयमा भने आफू कहिल्यै फेल नभएको अभिनेता गिरीले गर्वका साथ सुनाए।

रेखा थापा : गीतले पढाइ बिगार्यो 

२५ वर्षदेखि नेपाली सिनेमामा सक्रिय अभिनेत्री रेखा थापा भने कक्षा ४ सम्म ‘फस्ट गर्ल’ थिइन्। तर, एउटा गीतले उनको पढाइको लय नै बदलिदियो। उनले भनिन्, ‘म कक्षा ४ सम्म फस्ट हुन्थेँ। जब इश्वरी प्रधानको टेलिभिजनमा ‘छोरी मलाई भागी भागी नसताऊ’ बोलको गीत आयो। त्यो देखेपछि ओहो, म पनि यस्तै बन्छु भनेर मेरो पढाई गोल भयो,' रेखाले सुनाइन्।

दर्शकमाझ चिनिने रहर जागेपछि पढाइमा ध्यान कम हुँदै गएको उनको अनुभव छ। ‘इश्वरी प्रधानको गीत सुनेपछि दर्शकमाझ चिनिनु बन्नु पर्ने रहेछ भन्ने लाग्यो मलाई,’ उनले थपिन्, ‘त्यसपछि मेरो रोल नम्बर १०, १२, १५, २० हुँदै ५१-५२ सम्म पुग्न थाल्यो। पहिला म पढाइमा चाहिँ ट्यालेन्ट नै थिए।’

रेखाले आफूलाई लोकसेवा पास गरेर जागिर खाने मोह कहिल्यै नभएको बताइन्। आफ्नो इच्छाले कलाकारिता रोजेपछि आफूलाई चाहिने जति आधारभूत शिक्षा लिएको र त्यो कुरा नै आफ्नो लागि ठूलो शिक्षा भएको उनको तर्क थियो। ‘नवरसमा काम गरेपछि नौ वटै विषयमा पिएचडी नै गरे बराबरको त हो नि,’ उनले आत्मविश्वासका साथ भनिन्।

मंसिर २६, २०८२ शुक्रबार २२:१८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।