चुनावी वातावरण बनाउन आग्रह गर्दै भुसाल भनिन् : आगामी चुनावले देशलाई लयमा ल्याउँछ

चुनावी वातावरण बनाउन आग्रह गर्दै भुसाल भनिन् : आगामी चुनावले देशलाई लयमा ल्याउँछ

तनहुँ : नेपाली कम्युनिष्ट पार्टीका नेतृ पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन्। शुक्रबार दमौलीमा आयोजित पार्टीको एकता सन्देश सभामा उनले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधिसभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरिन्।

नेतृ भुसालले आफ्नो पार्टीले आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताइन्। निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दलले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेतृ भुसालले भनिन्, 'जेनजी आन्दोलनपश्चात् देश नै राज्यविहीन अवस्थामा पुगिसकेको थियो, फागुन २१ गतेको चुनाव सम्पन्न गराएर देशलाई लयमा ल्याउनुपर्ने अवस्था छ। संविधान रक्षा गर्दै चुनावले देशलाई लयमा ल्याउँछ।'

नेपाली जनताको रगत र पसिनाबाट निर्माण भएको संविधान रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै उनले जनतामा देखिएको नैराश्यता सम्बोधन गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको बताइन्।

मंसिर २६, २०८२ शुक्रबार १९:४८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।