तालिकाको पुच्छारबाट फाइनलसम्म : लुम्बिनी लायन्सको पुनरागमन र कप्तान रोहितको अग्निपरीक्षा
काठमाडौं : क्रिकेटलाई किन अनिश्चितताको खेल भनिन्छ? किन यो खेललाई जे पनि हुन सक्ने मञ्च मानिन्छ? यसको सटिक जवाफ दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)को संस्करणले दियो।
खेलकुदमा एउटा भनाइ चर्चित छ- ‘तपाईं कसरी सुरू गर्नुहुन्छ त्यो महत्त्वपूर्ण होइन, तपाईं कसरी अन्त्य गर्नुहुन्छ त्यो महत्त्वपूर्ण हो।’ यो भनाइ ठ्याक्कै मिलेको छ अहिलेको लुम्बिनी लायन्सको अवस्थासँग।
गत वर्षको एनपीएलको अंकतालिका पल्टाएर हेर्दा जुन टोली पुच्छारमा थियो, त्यही टोली कीर्तिपुरको मैदानमा उपाधिका लागि भिड्दैछ। अर्कोतर्फ, गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्स यसपालि अंक तालिकाको पुच्छारमा रह्यो।
यसपालिको एनपीएलमा लुम्बिनी लायन्सको कथा कुनै चलचित्रको पटकथाभन्दा कम रोमाञ्चक छैन। लिग चरणको मध्यतिर ‘एक हार’ले प्रतियोगिताबाटै बाहिरिन सक्ने सँघारमा पुगेको लुम्बिनीले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन।
हारको मुखबाट खोसिएको जितको स्वाद कति मीठो हुन्छ, त्यो लुम्बिनीले लगातार ५ खेल जितेर प्रमाणित गरिदिएको छ। अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्दा लुम्बिनीले त्यही आत्मविश्वासलाई कायम राख्दै उत्रनेछ।
व्यक्तिगत सफलतादेखि टिमको कमब्याकसम्म
लुम्बिनी लायन्सको यो जितको केन्द्रविन्दुमा छन्- राष्ट्रिय टोलीका कप्तान समेत रहेका कप्तान रोहित पौडेल। रोहितको व्यक्तिगत प्रदर्शन र कप्तानीलाई दुई वर्षको कसीमा राखेर हेर्ने हो भने, त्यहाँ एक परिपक्व कप्तान देखिन्छ।
गत सिजनको एनपीएल रोहितका लागि व्यक्तिगत रूपमा सफल भए पनि टिमका लागि बिर्सनलायक थियो।

टोली अङ्क तालिकाको पुच्छारमा रहँदा पनि रोहित ब्याटिङ चार्टको तेस्रो स्थानमा थिए। उनले ७ खेलमा ३९.८५ को औसत र १३१.६० को स्ट्राइक रेटमा २७९ रन बनाएका थिए। यो लिगकै तेस्रो सर्वाधिक रन थियो।
तर, रोहितको त्यो रनले मात्र टोलीलाई प्लेअफमा पुर्याउन सकेन। ब्याटिङमा उनलाई साथ दिन कोही भएनन्। गत वर्ष लुम्बिनीबाट खेल्ने विदेशी खेलाडी टम मुर्सले ७ खेलमा १६५ रन बनाए पनि अन्य नेपाली ब्याटरहरू पूर्ण रूपमा असफल रहे।
प्रमुख ब्याटर मानिएका सन्दीप जोराले ७ खेलमा १२० रन र विवेक यादवले ७ खेलमा जम्मा १०० रन बनाए। एक छेउबाट रोहितले रन बनाइरहँदा अर्को छेउबाट विकेटको पतन रोकिँदैन थियो।
तर एक वर्षपछि दृश्य फेरिएको छ। रोहित पौडेलको ब्याट यसपटक पनि शान्त छैन।
फाइनल अघिसम्म नौ खेल खेल्दा उनले २६० रन बनाइसकेका छन्। उनी यसपालि पनि ब्याटिङ चार्टको तेस्रो स्थानमै छन् भने उनीभन्दा अगाडि दुई विदेशी खेलाडी छन्।
२८.८८ को औसत र ९८.११ को स्ट्राइक रेटमा रन बनाएका रोहित यसपालि ‘एन्कर’ को भूमिकामा छन्। तर, सबैभन्दा ठूलो सरप्राइज उनको ब्याटिङ होइन, बलिङ र कप्तानीमा देखिएको छ।

रोहितले यस सिजन आफूलाई एक प्रभावकारी ‘अलराउन्डर’ को रूपमा स्थापित गरे। उनले ९ खेलमा जम्मा ९ ओभर बलिङ गरेका छन्, तर त्यही ९ ओभरमा उनले ७ महत्त्वपूर्ण विकेट लिएर खेलको पासा पल्टाएका छन्।
उनको बलिङ औसत १२.४२ र इकोनोमी ९.६६ छ, जुन पार्टटाइम बलरका लागि गजब हो। विशेषगरी एलिमिनेटर राउन्डमा उनले लिएको ३ विकेट नै लुम्बिनीको फाइनल यात्राको आधारशिला बन्यो।
विदेशी खेलाडीको योगदान र शेर मल्लको उदय
गत वर्ष रोहित एक्लै लड्थे, यसपालि सिङ्गो लुम्बिनी लडिरहेको छ। लुम्बिनीको फाइनल यात्राको मुख्य कारण नै सामूहिक प्रदर्शन हो।
डार्सी सर्टले ९ खेलमा २४२ रन बनाउँदै ओपनिङ थामिदिएका छन् भने निरोशन डिकवेलाले विकेटकिपिङ र सम्हालिएको ब्याटिङ गरिरहेका छन्। उता रुबेन ट्रम्पलम्यानले ९ खेलमा १२ विकेट लिँदै नयाँ बलले विपक्षीको टप अर्डर ध्वस्त पारिरहेका छन्।
खासमा निरोशन डिकवेला आएपछि नै लुम्बिनी मोमेन्टम चेन्ज भएको हो। त्यसअघि तीन खेल लगातार हारेको टोली उनी आएपछि ब्याटिङमा थप बल मिलेको थियो। उनी लामो समय विकेटमा टिकेर राम्रो स्ट्राइक रेटमा रन बनाउनसक्ने श्रीलंकाली खेलाडी हुन्।
यसका अलावा यो सिजनको एनपीएल लुम्बिनीका शेर मल्लका लागि एकदमै यादगार रह्यो। गत सिजनमा जनकपुर बोल्ट्समा रहेका मल्ललाई टोलीले खासै प्रयोगमा ल्याएको थिएन।
तर यसपटक लुम्बिनीको बलिङ आक्रमणको मेरुदण्ड नै शेर मल्ल बने। उनले ९ खेलमा १४ विकेट लिइसकेका छन्। ६.७५ को उत्कृष्ट इकोनोमी र १५.४२ को औसतमा बलिङ गरेका मल्ल विपक्षी ब्याटरका लागि टाउको दुखाइ बनेका छन्।

दोस्रो क्वालिफायरमा विराटनगरजस्तो बलियो टोलीलाई ९४ रनमा समेट्न तिलक भण्डारीले गरेको बलिङ (३ विकेट) तारिफयोग्य थियो। सन्दीप जोरा र अभिषेक गौतम जस्ता खेलाडीले पनि आवश्यकता अनुसार योगदान दिइरहेका छन्।
गर वा मर : प्लेअफको त्यो जादु
लिग चरणमा चौथो स्थानमा रहँदै लुम्बिनीले प्लेअफमा स्थान बनायो। धेरैले सोचेका थिए- काठमाडौं गोर्खाज वा विराटनगर किंग्सले दोस्रो क्वालिफायर खेल्नेछ। तर, लुम्बिनीले सबै अनुमानलाई गलत साबित गरिदियो।
काठमाडौं गोर्खाजविरुद्धको इलिमिनेटर खेल लुम्बिनीको धैर्यताको परीक्षा थियो। पहिले ब्याटिङ गरेको काठमाडौंलाई १११ रनमा रोक्न कप्तान रोहित पौडेल र शेर मल्लले कसिलो बलिङ गरे।
जवाफी ब्याटिङमा ११२ रनको सामान्य लक्ष्य पछ्याउँदा पनि लुम्बिनीले ६ विकेट गुमायो। तर, दबाबका बीच टोलीले १४ बल बाँकी छँदै जित निकाल्यो। यो जित प्राविधिक मात्र थिएन, मनोवैज्ञानिक थियो। यसले देखायो कि लुम्बिनी दबाबमा आत्तिँदैन।
विराटनगर किंग्सविरुद्धको खेलमा लुम्बिनीले बलिङ शक्ति देखायो। पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। टी-२० मा यो स्कोर रक्षा गर्न निकै कठिन मानिन्छ, त्यो पनि मार्टिन गप्टिल र फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय ब्याटर भएको टोलीविरुद्ध।

तर, लुम्बिनीका बलरहरूले मैदानमा जादु गरे। रुबेन ट्रम्पलम्यानले सुरुवातमै झट्का दिए भने तिलक भण्डारी, जेजे स्मिट र अभिषेक गौतमले विराटनगरको मध्यक्रम ध्वस्त पारे।
९४ रनमै विराटनगरलाई अलआउट गर्दै लुम्बिनीले ४० रनको सानदार जित निकाल्यो। १३४ रन बनाएर पनि ४० रनले जित्नुले लुम्बिनीको बलिङ युनिट कति शक्तिशाली छ भन्ने पुष्टि गर्छ।
फाइनलको प्रतिक्षा : इतिहास रच्ने संघारमा
अब शनिबार कीर्तिपुर मैदानमा एनपीएलको फाइनल हुँदैछ। एकातिर प्रतियोगिताभरि एकनासको र उच्च लयमा रहेको सुदूरपश्चिम छ भने अर्कोतिर हारको मुखबाट बौरिएर आएको अनि उच्च मनोबलले भरिएको लुम्बिनी।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमसँग आरिफ शेख, विनोद भण्डारीजस्ता अनुभवी खेलाडीको साथ छ। उनीहरूले पहिलो क्वालिफायर जितेर तीन दिनको आराम पाएका छन्।
तर, लुम्बिनीसँग ‘मोमेन्टम’ छ। क्रिकेटमा भन्ने गरिन्छ- मोमेन्टममा रहेको टोलीलाई रोक्न सबैभन्दा गाह्रो हुन्छ।
गत वर्षको पुच्छारको टोली, जो यस वर्ष पनि मुस्किलले प्लेअफमा छिरेको थियो, उसले ट्रफी उचाल्यो भने त्यो नेपाली फ्रेन्चाइज क्रिकेट इतिहासकै सबैभन्दा ठूलो ‘कमब्याक स्टोरी’ हुनेछ।
मंसिर २६, २०८२ शुक्रबार ११:३१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।