भदौ २४ गते बालुवाटारबाट भागेको प्रश्नमा रिसाउँदै ओलीले भने “म अमेरिका, भारत, चीन कहाँ भागेँ?”
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आफू प्रधानमन्त्री निवास बालुवाटारबाट नभागेको दाबी गरे। उनले आफू त्यहाँ बस्दा प्रदर्शनकारीहरू घाइते हुनसक्ने देखेर मुकाम बदलेको दाबी गरे। भदौ २४ गते प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार घेरेपछि नेपाली सेनाले उनलाई हेलिकप्टरमा राखेर परिसरबाट बाहिर निकालेको थियो।
यस अगाडि नेपाली सेनाले ओली सैनिक ब्यारेकमा रहेको खुलाएको थियो भने ओलीले यस अगाडिका केही अन्तर्वार्तामा आफू सैनिक सुरक्षामा रहँदा सुशीला कार्कीको नेतृत्वमा सरकार नबनेसम्म आफ्नो मोबाइल समेत नदिएको खुलाएका थिए।
तर बिहीबार उनले आफू नभागेको केवल क्याजल्टी (घाइते) होलान् भनेर एउटा ठाउँबाट अर्को ठाउँमा सरेको दाबी गरे।
उनले महाभारतमा लाक्षा गृहमा राखेर पाण्डवहरूलाई जलाउन कौरवहरूले बनाएको षड्यन्त्र तोड्न पाण्डवहरू भागेको उदाहरण दिएका थिए। तर उनले आफू नभागेको बारम्बार दोहोर्याइरहे।
“मैले राजीनामा गरेँ। म केयर टेकर प्रधानमन्त्री थिएँ। भागेको प्रधानमन्त्री प्रधानमन्त्री रहन्छ र ?” उनले प्रश्न गरे “ राष्ट्रपतीले कदम चाल्नका लागि २६ गते राती प्रधानमन्त्रीको हैसियतमा सिफारिस गरेको छु भने म कहाँ भागेँ?”
उनले आफूले बालुवाटार नछाडेको भए सुशीला कार्कीहरूले के गर्थे भनेर प्रश्न गर्दै क्याजल्टी हुनु भन्दा वल्लो घरबाट पल्लो घर सरे भयो भनेर हिँडेको दाबी गरे।
“उसले खेदे जस्तो गर्छ, आफू कुद्नु पर्छ अनि बच्चाहरू भाग्यो भनेर खुसी हुन्छन्” उनले भने।
उनले बारम्बार भागेको प्रसङ्गमा आपत्ति जनाउँदै सोधिरहे “कुन देश गएको थिएँ? भारत गएको थिए? , चीन गएको थिएँ?, रुस गएको थिएँ कि अमेरिका गएको थिएँ?”
प्रदर्शनकारीहरूले आफ्नो घर डढाएकाले तत्काल फर्कन नसकेको र डेरा खोज्न समय लागेको भन्दै डेरा पाए लगत्तै आफू गुन्डुमा आएर बसेको बताए।
मंसिर २५, २०८२ बिहीबार १५:२९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।