कार्की सरकार र जेनजीबीचको सम्झौताबारे ओलीको टिप्पणी “फजुल कागजलाई मान्यता दिने भन्ने प्रश्नै हुन्न”

कार्की सरकार र जेनजीबीचको सम्झौताबारे ओलीको टिप्पणी “फजुल कागजलाई मान्यता दिने भन्ने प्रश्नै हुन्न”

काठमाडौं : सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौतालाई एमाले अध्यक्ष केपी ओलीले फजुल कागज भनेका छन्। एमालेको ११ औँ महाधिवेशन अगाडि सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले बुधवार सम्झौताका लागि भएको कार्यक्रमलाई कलाविहीन नाटक भएको टिप्पणी गर्दै जेनजीहरुले नै सम्झौता अस्वीकार गरेर च्यातेको बताए।

“हिजोको कलाहीन नाटकको पटाक्षेप कसरी भयो भन्ने पनि देखियो। यो सरकार कुनै यस्तो सम्झौता गर्ने म्यान्डेट पाएको छैन। कसैले भोट हालेको छ? चुनेको छ? गोबर लगाएर टाँसेको हैन?” उनले भने।

उनले कोको बोलाएर कागज थमाएको भन्दै पहिल्यै रिहल्सनमा सिकाएर पठाएको तर पाठ बिग्रिएको भन्दै उनले भने “ त्यो त त्यही अस्वीकार भयो। उनीहरूले नै च्यातिदिए। त्यस्ता फजुल कागजहरूलाई मान्यता दिने भन्ने प्रश्नै उठ्दैन।”

उनले अन्तर्क्रियामा एमाले सकियो भन्नेहरूलाई भक्तपुरको ठूलो मैदानमा जवाफ दिने भन्दै कार्की नेतृत्वको सरकारलाई नाग पञ्चमीमा गोबरले टाँसेको नाग भएको बताए।

“नाग पञ्चमीमा गोबर टाँसे जसरी कसैले ल्याएर टाँसिदिएको सरकार। यो नागको फोटो कसले टाँस्यो तपाइँहरुलाई थाहा होला।  आफूले त खोजी गरिरहेका छौँ।”

उनले कार्यक्रममा पटक पटक कार्की नेतृत्वको सरकारलाई गोबरले टाँसेको नाग भन्दै खिसीटिउरी गरिरहे। 

सम्बन्धित समाचार

मंसिर २५, २०८२ बिहीबार १४:५७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।