बर्दियामा गोली हानेर युवकको हत्या, पूर्वमुख्यमन्त्रीका भाइ पेस्तोलसहित पक्राउ
बुटवल : बर्दियाको राजापुरमा आइतबार गोली प्रहार गरी एक युवकको हत्या भएको घटनामा प्रहरीले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइलाई पक्राउ गरेको छ।
दाङका २८ वर्षीय निरज चौधरीको हत्या अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका महावीर पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन्।
बर्दियाका निमित्त प्रहरी प्रवक्ता एवं इन्स्पेक्टर प्रकाशसिंह कार्कीका अनुसार महावीरलाई कैलालीको कैलारी गाउँपालिका-२ बाट नियन्त्रणमा लिइएको हो। प्रहरीले उनको साथबाट हत्यामा प्रयोग भएको एउटा पेस्तोल समेत बरामद गरेको छ।
राजापुर-४ स्थित ‘हमार थारु घर एण्ड रेस्टुरेन्ट’ भित्र निरजको गोली हानेर हत्या गरिएको थियो। उक्त रेस्टुरेन्ट महावीरकै सालीको भएको खुलेको छ। दाङको तुलसीपुरबाट निरजलाई महावीरले नै बर्दिया लिएर गएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनाको मुख्य कारण अमेरिका जाने प्रलोभन र आर्थिक लेनदेन देखिएको छ। महावीर अमेरिकी ‘ग्रीन कार्ड’ वाहक हुन्।
निरजले महावीरलाई अमेरिका जान भन्दै रकम बुझाएका थिए। तर, अमेरिकी आप्रवासी नीतिका कारण वा अन्य समस्याले महावीरले उनलाई अमेरिका पठाउन सकेका थिएनन्।
लामो समयसम्म अमेरिका जान नपाएपछि निरजले पटक-पटक महावीरसँग आफ्नो पैसा फिर्ता माग्दै आएका थिए। पैसा फिर्ताको दबाब बढेपछि महावीरले निरजको हत्या गर्ने योजना बुनेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार हत्या आरोपी महावीर र मृतक निरज नातामा हजुरबुबा र नाति पर्छन्। आफ्नै नाति पर्ने व्यक्तिलाई पैसा फिर्ता गर्नुको साटो योजनाबद्ध रूपमा रेष्टुरेन्टमा लगेर गोली प्रहार गरेको देखिएको छ।
प्रहरीले घटनास्थलबाट पासपोर्ट, भिसा र अमेरिकी डलर लगायतका कागजातहरू बरामद गरेको छ। पक्राउ परेका महावीरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
मंसिर २५, २०८२ बिहीबार १३:४२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।