एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त

एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त

काठमाडौं : एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन्।

मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त लगायतका क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर्ने छिन्।

साथै, उनले ईएसजी एकीकृत लगानी ढाँचाको विस्तार र पोर्टफोलियो निगरानीमा मुख्य भूमिका खेल्ने कम्पनीले जनाएको छ।

क्लाइमेट फाइनान्स, प्राइभेट इक्विटी र उद्यम विकासको क्षेत्रमा १४ वर्षभन्दा बढीको अनुभव संगालेकी मल्लले यसअघि बिजनेस अक्सिजन, क्रस बाउन्ड्री एडभाइजरी र यूएसएआईडी अन्तर्गतका परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छिन्।

उनी हाल घामपावरको स्वतन्त्र सञ्चालक र इम्प्याक्ट हब काठमाडौंको सल्लाहकार बोर्ड सदस्य समेत हुन्।

एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवान्त बहादुर पाँडेले मल्लको अनुभवले कम्पनीको लगानी रणनीति र नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

मल्लले नेपालको पुँजी बजारको विकास र दिगो लगानी प्रवर्द्धनमा योगदान गर्न पाउनु खुसीको कुरा भएको बताएकी छन्।

मंसिर २५, २०८२ बिहीबार १२:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।