नेपाल-भियतनाम दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा, आर्थिक सहकार्य र लगानी विस्तारमा जोड
काठमाडौं : नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा दुई देशका निजी क्षेत्रबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल भएको छ।
बिहीबार भियतनामको राजधानी हनोइमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीबीच सहकार्य बढाउने विषयमा छलफल भएको हो।
सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामी व्यवसायीहरूलाई नेपालको पर्यटन, जलविद्युत्, कृषि तथा हस्तकला, चिया, कफी र जडीबुटी जस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरे।
उनले नेपालमा लगानीमैत्री कानुन र नीतिगत सुधार भएको भन्दै भियतनामी लगानीकर्तालाई आश्वस्त पारे। अध्यक्ष ढकालले महासंघको आगामी साधारणसभामा सहभागी हुन भियतनामी टोलीलाई निम्तो समेत दिएका छन्।
भियतनाम चेम्बरका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले नेपालसँग आर्थिक साझेदारीका लागि आफूहरू इच्छुक रहेको बताउँदै व्यापार र लगानीको सम्भावना खोजी गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले दुई देशबीचको ५० वर्षे सम्बन्धलाई व्यापार र लगानीका माध्यमबाट थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलमा महासंघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।
मंसिर २५, २०८२ बिहीबार १२:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।