ललितपुरमा सात वर्षीया सौतेनी छोरीलाई बलात्कार गर्ने बुवा प्रहरी हिरासतमा, विद्यालयकी शिक्षिकामार्फत खुल्यो रहस्य

ललितपुरमा सात वर्षीया सौतेनी छोरीलाई बलात्कार गर्ने बुवा प्रहरी हिरासतमा, विद्यालयकी शिक्षिकामार्फत खुल्यो रहस्य

ललितपुर : ललितपुरमा ७ वर्षीया सौतेनी छोरीलाई पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा ४८ वर्षीय बुबाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले हाडनाता करणी र जबरजस्ती करणीको कसुरमा मंगलबार अभियोग पत्र दायर गरेको हो।

मकवानपुर स्थायी घर भई हाल ललितपुर महानगरपालिका-२२ बुङमती बस्ने ४८ वर्षीय बाबुले आफ्नै संरक्षणमा रहेकी नाबालिका छोरीमाथि जघन्य अपराध गरेको अभियोग पत्रमा उल्लेख छ।

प्रहरी र सरकारी वकीलको कार्यालयले ती बाबुको नाम गोप्य राखेको छ।

पीडित बालिकाका बुबाको मृत्युपछि उनकी आमाले प्रतिवादीसँग दोस्रो विवाह गरेकी थिइन्। बाबुले २०८० सालदेखि २०८२ भदौ १९ गतेसम्मको अवधिमा पटक-पटक बालिकामाथि यौन शोषण गरेका थिए।

आमासँग सुतेकी बालिकालाई तानेर आफ्नो ओछ्यानमा लैजाने, मुख थुन्ने र डरत्रास देखाई जबरजस्ती करणी गर्ने गरेको पीडितको बयानमा उल्लेख छ।

‘बाबाले घरमा आमा निदाएको बेला मलाई खाटबाट तल भुइँमा तानी आफूसँगै सुताउनु हुन्थ्यो, म रुन खोजे मुख थुनिदिनुहुन्थ्यो’, पीडित बालिकाले बकपत्रमा भनेकी छिन्।

बालिकाले आफूलाई समस्या भएपछि यो कुरा विद्यालयकी शिक्षिकालाई बताएकी थिइन्। बालिकाले शिक्षिकालाई ‘बाबाले राति सुत्दा नराम्रो काम गर्ने गरेको’ बताएपछि शिक्षिकाले विद्यालयका प्रधानाध्यापक र स्थानीय जनप्रतिनिधिलाई खबर गरेकी थिइन्।

ललितपुर महानगरपालिका-२२ की वडा सदस्य जुनु मिजारको पहलमा बालिकाको उद्धार गरी संरक्षण गृहमा राखिएको र कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य परीक्षण गराउँदा घटना बाहिर आएको हो।

अभियुक्तले भने प्रहरीसमक्षको बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

तर, पीडितको बयान, विद्यालयका शिक्षक तथा जनप्रतिनिधिको कागज र मनोसामाजिक परामर्श प्रतिवेदनले घटना पुष्टि हुने आधारहरू देखाएको सरकारी वकिल कार्यालयको दाबी छ।

अभियोग पत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (जबरजस्ती करणी) र दफा २२० (हाडनाता करणी) बमोजिम कारबाहीको माग गरिएको छ।

पीडित बालिका १० वर्षभन्दा कम उमेरकी (७/८ वर्ष) भएको र प्रतिवादी सौतेनी बाबु पर्ने भएकाले उनलाई १६ देखि २० वर्षसम्म कैद र हाडनाता करणीवापत थप सजायको मागदाबी लिइएको छ।

साथै, पीडितलाई ७ लाख रुपैयाँ जरिवाना र उचित क्षतिपूर्ति भराउन समेत माग गरिएको छ।

अहिले पीडित बालिका संस्थाको संरक्षणमा छिन् भने अभियुक्त प्रहरी हिरासतमा छन्।

मंसिर २५, २०८२ बिहीबार १२:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।