सुप्रिम सहकारी ठगी : रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदै
बुटवल : सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको छ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार मुद्दाको सुनुवाइका लागि आज पेसी चढाइएको छ। यसअघि लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका कारण दुईपटक बहस स्थगित भएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले गरेको आदेशविरुद्ध लामिछाने उच्च अदालत पुगेका हुन्।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई धरौटी वा बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।
लामिछानेले उक्त रकमको चार भागको एक भाग अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गर्दा पनि जिल्ला अदालतले त्यसलाई स्वीकार गरेको थिएन।
जिल्ला अदालतको उक्त आदेश बदरको माग गर्दै लामिछानेले गत भदौ ९ गते उच्च अदालतको बुटवल इजलासमा निवेदन दर्ता गराएका थिए। सोही निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो।
मंसिर २५, २०८२ बिहीबार ०९:४४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।