प्रधानमन्त्रीकै अगाडि 'जेनजी' को प्रश्न: "बुढीमाउ मरेर गएपछि कसले कार्यान्वयन गर्छ?"

प्रधानमन्त्रीकै अगाडि 'जेनजी' को प्रश्न:

काठमाडौं: 'जेनजी' आन्दोलनको माग र त्यसपछिको परिस्थितिलाई संस्थागत गर्न सरकारसँग औपचारिक सम्झौताका लागि आयोजित कार्यक्रममै 'जेनजी' समूहबीच विवाद भयो।

सम्झौता समारोहमा सहभागी हुन जेनजी शहीद परिवार र जेनजी घाइतेहरू समेत प्रधानमन्त्री कार्यालय पुगेका थिए। शहीद परिवार मलिन  देखिन्थे। घाइतेहरू आन्दोलनको माग सरकारले औपचारिक रूपमा संस्थागत गरेको दृश्यको साक्षी बन्न एम्बुलेन्समै चढेर भए पनि कार्यक्रमस्थलमा गएका थिए। तर, दृश्य त्यति स्मरणीय रहेन।

प्रधानमन्त्री र शहीद, घाइते तथा जेनजीका प्रतिनिधिबीच सम्झौता पत्रमा हस्ताक्षर हुनुअगाडि सम्झौता पत्र वाचन गरेर सुनाउने कार्यक्रम थियो। जेनजीका प्रतिनिधि, शहीद परिवार र घाइतेलाई सम्झौताको प्रतिलिपि बाँडियो। प्रधानमन्त्री सुशीला कार्की कुर्सीमा आएर बसिन्। तर, माहोल एकाएक बिग्रन थाल्यो।

जेनजी प्रतिनिधिहरूले सम्झौताको मस्यौदामा असहमति जनाउँदै आफ्नो भनाइ राख्न खोजे। तर, पाएनन्। हल्ला बढ्दै गयो। उता सम्झौता मस्यौदा पढ्न तयार प्रधानमन्त्री कार्यालयका प्रतिनिधि भन्दै थिए: "सामूहिक अनुशासनमा बसौँ।"

यता, राष्ट्रपति छाडेर प्रधानमन्त्रीसँग सम्झौता गर्न लागेकोमा असहमत जेनजीका प्रतिनिधिले प्रधानमन्त्रीकै अगाडि सोधे: "बुढीमाउ (प्रधानमन्त्री कार्की) मरेर गएपछि सम्झौता कसले कार्यान्वयन गर्छ?"

माहोलका कारण कार्यक्रमै अगाडि बढ्न नसकेपछि जेनजी मन्त्री बब्लु गुप्ता आफैँ उठेर होहल्ला भएको ठाउँतिर आएर सम्झाउने प्रयास गरे। उनी सम्झाएर कुर्सीमा फर्किन्थे, यता हल्ला भइहाल्थ्यो।

गृहमन्त्री ओमप्रकाश अर्याल नजिकै बसेका सुधन गुरुङ माहोल हेरेर बेचैन देखिन्थे। उनी कुर्सीबाट उठेर सबैलाई चुप बस्न हातले इशारा गरेर बसे। तर, माहोल शान्त भएन। केही जेनजीले सम्झौता मस्यौदा च्यातेर सिलिङतिर उडाए। प्रधानमन्त्री कार्की शान्त भएर हेरिरहिन्।

बल्ल बल्ल माहोल अलि शान्त भएपछि जेनजीका तर्फबाट प्रतिनिधि भोजविक्रम थापाले हस्ताक्षर गरे। प्रधानमन्त्री कार्कीले जेनजीलाई 'छोरा'अनि सुधनलाई 'जेठो छोरा' भन्दै सम्झौता कोसेढुङ्गा भएको भन्दै धारणा राखिन्।

उनले आफ्नो धारणा सकेपछि पुनः केही जेनजीले आफ्ना धारणा राख्न खोजे। होहल्ला चर्कियो। प्रधानमन्त्री कार्की उठिन्, हिँडिन्। घाइतेहरू माहोल हेरेर नमिठो अनुहार बनाउँदै वैशाखी टेकेर बाहिरिन थाले। शहीद परिवारका सदस्य मलिन अनुहार लगाएर बाहिरिए। कोठामा "ओए, तँमात्र लडेको होस्? सोमत छैन? मुख सम्हालेर बोल। हामीलाई धोका भयो" जस्ता शब्द चर्किँदै थिए।

 असहमति के मा?

हस्ताक्षर कार्यक्रममा मुख्य रूपमा सुशीला कार्की सरकारबाट हटेपछि सम्झौताको स्वामित्व कसले लिन्छ भन्ने एक पक्षको जायज चासो देखियो। आफूहरूले सम्झौता अलपत्र नपरोस् भनेर राष्ट्रपतिसँग सम्झौता गर्नु पर्ने भने पनि प्रधानमन्त्रीसँग गरेकोमा उनीहरू असन्तुष्ट देखिन्थे।

एक प्रतिनिधिले मुखै फोरेर भनेको सुनियो: "बुढीमाउ मरेर गएपछि कसले कार्यान्वयन गर्छ?"

अर्को असन्तुष्टि प्रतिनिधित्वमा देखियो। यो समूहको सम्झौताबारे गुनासो थिएन तर सीमित व्यक्तिसँग मात्र छलफल गरेर ड्राफ्ट बनाएकोमा उनीहरू सन्तुष्ट देखिएनन्।

तेस्रो समूह शासकीय स्वरूप नबदली निर्वाचनमा जाने प्रयास गरेको र सहमतिमा त्यही राखिएको भन्दै असन्तुष्ट देखिए। संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी बनाएर मात्र निर्वाचन गर्नु पर्ने उनीहरूको माग थियो।

चौथो समूहकाहरू 'अटेन्सन' (ध्यान) कै लागि विवाद गरिरहेका थिए। "तिमीहरू मात्र जेनजी?" भन्दै उनीहरू जेनजी प्रतिनिधिहरूसँगै झगडा गरिरहेका देखिन्थे।

मुख्य नेता सम्झौतामा खुसी

सम्झौता स्थलमा विवाद भए पनि रक्षा बम, सुधन गुरुङ, पुरुषोत्तम यादव लगायतकाहरू भने सम्झौताको पक्षमा देखिए। सम्झौतापछि बाहिरिनेक्रममा सम्झौता हुनु सकारात्मक भएको भन्दै अब कार्यान्वयनमा ध्यान दिनु पर्ने बताए।

मंसिर २५, २०८२ बिहीबार ००:५९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।