एनपीएल एलिमिनेटर: काठमाडौँलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधवार भएको एलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा काठमाडौँले दिएको ११२ रनको सामान्य लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर सहजै पूरा गर्यो। लिग चरणमा तेस्रो स्थानमा रहेको काठमाडौँ एलिमिनेटरको हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ३३ रन बनाए। ३४ बल खेलेका उनले २ छक्का प्रहार गरेका थिए। सन्दीप जोराले २३ बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन जोडे। कप्तान रोहित कुमार पौडेलले २५ बलमा १८ रन बनाए।
काठमाडौंका लागि सन्तोष यादवले २ विकेट लिएका थिए भने कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले १-१ विकेट लिएका थिए।
काठमाडौंको ब्याटिङ चलेन
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज् १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा अलआउट भएको थियो। काठमाडौंको इनिङ्स ध्वस्त पार्न लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे।
रुबेन ट्रम्पलम्यान र शेर मल्लले सुरुमै सानदार बलिङ गर्दै २-२ विकेट झारेपछि काठमाडौँले १४ रनमै ४ विकेट गुमाएर २९ रन बनायो। सन्तोष यादवले १७ बलमा १ छक्काको मदतमा सर्वाधिक २३ रन बनाएका थिए। जोन सिम्पसन र आदिल आलमले समान १८ रन जोडेका थिए। भीम शार्कीले १४ रन बनाए। ५२ रनमा ७ विकेट गुमाएको अवस्थामा आदिल आलम र सन्तोष यादवले इनिङ्स अघि बढाउने प्रयास गरेका थिए।
शेर मल्ल र रोहित पौडेलको कप्तानी प्रदर्शन
लुम्बिनीको जितमा स्पिनर शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएर निर्णायक भूमिका खेले। शेर मल्लले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। योसँगै उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा १३ विकेटसहित तेस्रो स्थानमा उक्लिए। उनीभन्दा अगाडि सन्दीप लामिछानेको १५ र अविनाश बोहराको १६ विकेट छ।
कप्तान रोहित पौडेलले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। रुबेन ट्रम्पलम्यानले ३.१ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने अभिशेष गौतमले १ विकेट हात पारे।
अब विराटनगरसँग प्रतिष्पर्धा
काठमाडौँलाई हराएपछि लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। विराटनगर किंग्स पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो।
मंसिर २४, २०८२ बुधबार १९:५२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।