माधवसँगै जान नसकेकाहरू पोखरेलको पक्षमा, तीन उपाध्यक्ष र दुई सचिवको साथ
काठमाडौँ : पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्ने घोषणा गरेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पादकहरूसँग संवाद गर्न आयोजित कार्यक्रममा आफूसँगै दायाँ-बायाँ ६ नेता राखेका थिए।
तेस्रो पटक पार्टी अध्यक्ष बन्ने तयारीमा रहेका केपी शर्मा ओलीलाई रोक्ने रणनीति अनुसार अगाडि बढेका पोखरेलको पक्षमा रहेका नेताहरू मञ्चमा उनीहरूसँगै बसेका थिए। पोखरेलको पक्षमा खुलेका नेताहरू नेकपा हुँदा माधव नेपालको पक्षमा खुलेकाहरू नै देखिए।
माधव नेपाल समूह नयाँ पार्टी गठन गरेर अलग्गिएपछि उनीहरू एमालेमै बसे। तर पार्टीको १०औँ महाधिवेशनमा ओलीलाई उनीहरूले चुनौती नदिए पनि निर्वाचनमा उल्लेख्य मत ल्याएका नेताहरू अहिले पोखरेलसँग देखिएका छन्।
बुधवार पोखरेलसँगै १० औँ महाधिवेशनका उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली देखिए। उनीहरू पोखरेलसँगै पहिलो लहरमा बसेका थिए। सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट पनि सँगै देखिए।
पोखरेलको पक्षमा खुलेका ज्ञवाली बाहेक यस अगाडि नेकपा हुँदा पार्टीमा बढेको द्वन्द्वमा माधव नेपालको पक्षमा खुलेकाहरू नै हुन्। तर अन्तमा उनीहरू पार्टी विभाजनको पक्षमा उभिएनन्। नेपालको पक्षमा खुले पनि पार्टी विभाजनमा सहभागी नभएका भीम रावल १० औँ महाधिवेशनमा ओली विरुद्ध प्रतिस्पर्धा गरे।
पराजित भएपछि पार्टीमा कुनै भूमिका पाएनन्। अन्तमा पार्टीले कारबाही गरेपछि बाहिरिएका उनी अहिले नेपाली कम्युनिस्ट पार्टीमा सहभागी भएका छन्।
माधव नेपाललाई साथ दिएर एकीकृत समाजवादीमै गएकी रामकुमारी झाँक्री नेपाली कम्युनिस्ट पार्टीमा पार्टी समायोजन भएपछि एमालेमै फर्किइन्। पहिला झाँक्री र योगेशसहितका नेताहरू एकै ठाउँमा थिए। तर बुधवारको कार्यक्रममा उनी देखिइनन्। उषा किरण लगायतका केही युवा नेताहरू पनि पोखरेलको कार्यक्रममा देखिएका थिए।
बुधवारको अन्तर्क्रियामा पोखरेलले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने हो भने कुनै पनि दल, अझ कम्युनिस्ट पार्टी, चल्न नसक्ने भन्दै ओलीको 'एक व्यक्ति-एक निर्णय' शैलीको विपक्षमा उभिए। उनले पार्टी जीवनमा विधि र पद्धतिबाट चल्नुपर्ने भन्दै विधान महाधिवेशनमा फरक प्रस्तावमाथि सुनुवाइ नगरी बहुमतको आधारमा निर्णय गर्नु वैचारिक विमतिको उदाहरण भएको दाबी गरे।
ओलीका लागि चुनौती:
- सर्वसम्मतिको दबाब: ओलीले सार्वजनिक रूपमै सर्वसम्मत नेतृत्व चयनको घोषणा गरे पनि पोखरेलले प्यानलसहित चुनौती दिने तयारी गरेका छन्। सर्वसम्मतका लागि ओलीले अध्यक्षको उम्मेदवार बन्न छाडेर अभिभावक बन्नुपर्ने पोखरेलको सर्त छ। निर्वाचन भएमा ओलीले आफ्नो शक्ति र प्रभाव प्रमाणित गर्नुपर्ने हुन्छ।
- असन्तुष्टि व्यवस्थापन: ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेताहरूलाई चित्त बुझाउन नसक्दा पार्टीभित्रको 'एकता' महाधिवेशनमा कमजोर देखिने जोखिम बढेको छ। अहिले उनलाई चुनौती दिने तयारी गरिरहेका पोखरेलको अवस्था भीम रावल जस्तो कमजोर देखिन्न। उनलाई पूर्व राष्ट्रपति समेत रहेकी र एमालेमा फर्कने असफल प्रयास गरेकी विद्या भण्डारीको साथ र समर्थन देखिन्छ।
- व्यक्तिगत पकडको परीक्षण: दशौँ महाधिवेशनपछि उपाध्यक्षमा नेम्वाङको निधन हुनु र सचिव रायमाझी जेलमा पर्नुले ओली पक्षको कोर समूहको शक्तिमा केही धक्का पुगेको छ। पूर्व माओवादी नेताहरू एमालेमै रहे पनि उनीहरूको पक्षका प्रतिनिधिले ओलीलाई नै मत दिन्छन् भन्न सकिने अवस्था देखिन्न।
वरिष्ठ उपाध्यक्ष पोखरेलको चुनौती
- कमजोर संगठन: लामो समयदेखि पार्टीको नेतृत्व र संगठनमा ओलीको पकड बलियो रहेकाले पोखरेलले आफ्नो प्यानलको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूबिच निर्णायक बहुमतमा बदल्न निकै मेहनत गर्नुपर्ने देखिन्छ।
- विगतको हार: १०औँ महाधिवेशनमा ओलीलाई चुनौती दिएका भीम रावलले जम्मा २ सय २३ मत ल्याएको इतिहास छ। पोखरेलले त्यो इतिहासलाई उल्ट्याउन वैचारिक आधार र नेताहरूको सामूहिक समर्थनलाई मतमा बदल्न सक्नुपर्छ।
मंसिर २४, २०८२ बुधबार १९:३७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।