एनपीएल सुरू हुनुअघि नै सक्रिए थियो ‘मुज्जा जी एनपीएल’ ह्वाट्सएप ग्रुप, कोठा नम्बर १०१ बाट चलिरहेको थियो सट्टेबाजीको योजना

एनपीएल सुरू हुनुअघि नै सक्रिए थियो ‘मुज्जा जी एनपीएल’ ह्वाट्सएप ग्रुप, कोठा नम्बर १०१ बाट चलिरहेको थियो सट्टेबाजीको योजना

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को खेल मैदानमा सुरु हुनुअघि नै एनपीएलको नाममा सट्टेबाजी गराइरहेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

लिगको हाइप सुरू भएसँगै त्यसैलाई क्यास गर्न सक्रिय गिरोहलाई प्रहरीले खेल सुरू हुनुभन्दा अगाडि नै पक्राउ गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा पेश गरेको अभियोगपत्र अनुसार, सट्टेबाजहरूले खेल सुरु हुनुअगावै ‘एनपीएल२४७’ जस्ता वेबसाइट र ‘मुज्जा जी एनपीएल’ ह्वाट्सएप ग्रुप बनाएर सट्टेबाजीको जालो बिछ्याइसकेका थिए।

प्रहरी प्रतिवेदन अनुसार, कात्तिक २५ गते साँझ ५ बजे काठमाडौं-११ सुन्धारास्थित ‘द माउन्ट फुजी’ होटलको कोठा नम्बर १०१ मा प्रहरीले छापा मारेको थियो। सो क्रममा भारत उत्तर प्रदेशका ५५ वर्षीय धर्मनाथ प्रसाद पक्राउ परेका थिए।

एनपीएल सुरू हुनुभन्दा केही हप्ता अगाडि नै नेपाल आएर उनले सट्टेबाजीका लागि सेटिङ मिलाइरहेको अनुसन्धानबाट देखिएको छ। सोही धन्दामा संलग्न रूपन्देहीका २५ वर्षीय रामानन्द यादव भने हाल फरार छन्।

प्रहरीले बरामद गरेको धर्मनाथको मोबाइल जाँच गर्दा एनपीएल सुरू हुनुअघि नै ‘मुज्जा जी एनपीएल’ लेखिएको ह्वाट्सएप ग्रुप सक्रिय रहेको पाइएको छ।

अभियोगपत्रमा उल्लेख भए अनुसार, गिरोहले ‘एनपीएल२४७’ नामक बेटिङ साइट प्रयोग गरेको देखिन्छ।

यसले लिग सुरु हुनुभन्दा अगाडि नै सट्टेबाजहरूले एनपीएललाई लक्षित गरी वेबसाइटको नामकरण गरेर लगानीकर्ता वा जुवाडेहरूलाई आकर्षित गरेको थियो।

उनीहरूले अन्य खेलहरूमा सट्टेबाजी गराइरहेको भए पनि एनपीएल नजिकिएसँगै यसैको नाममा ग्रुप र साइट चलाएका थिए।

एनपिएल सुरु हुनुअघिको मितिसम्म आइपुग्दा यो गिरोहले विभिन्न नेपाली व्यक्तिका बैंक खाताहरू अनधिकृत रूपमा प्रयोग गरी २ करोड ८४ लाख ४६ हजार ९८ रुपैयाँ बराबरको कारोबार गरिसकेको देखिएको छ।

प्रहरीले कात्तिक २५ गते नै छापा मार्दा कोठाबाट ३७ हजार नगद, ६ थान चेक, र सट्टेबाजीको हिसाब राखिएको नोटकपी बरामद गरेको थियो।

अभियुक्त धर्मनाथ प्रसादले बयानमा आफूलाई भारतमा बस्ने आलोक सिंहले मासिक ४० हजार रुपैयाँ तलब दिने गरी नेपाल पठाएको बताएका छन्। एनपीएलको हाइपसँगै नेपालमा बसेर कारोबार बढाउने योजनाअनुसार उनीहरू सक्रिय थिए।

कात्तिक २५ गते पक्राउ परेका उनीहरूमाथि प्रहरीले अनुसन्धान सकेर हालै जिल्ला अदालत काठमाडौंमा ‘मुलुकी अपराध संहिता, २०७४’ अन्तर्गत सट्टेबाजी (जुवा) कसुरमा मुद्दा दायर गरेको छ।

मंसिर २४, २०८२ बुधबार १४:१०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।