एनपीएलमा म्याच फिक्सिङ गर्न आएका एजेन्ट भेटेका जनकपुर बोल्ट्सका खेलाडीको बयान- ‘रन आउट भए पाँच करोड दिन्छु भने, मैले प्रहरीलाई खबर गरेँ’
काठमाडौं : २०८२ कार्तिक ३० गते इन्स्टाग्राममार्फत 'ruby-2075' नामक अकाउन्टबाट 'रुबी ठाकुर' नाम गरेकी प्रयोगकर्ताले मेरो इन्स्टाग्राम अकाउन्टमा निम्न म्यासेज पठाइन्:
"can you share contact number? or can you meet when you are free as we will discuss about the thing it will be beneficial for both of us.."
त्यसपछि मैले 'के रहेछ' भनेर “Tell me what type of Sponsor?” भनी जवाफ दिएँ। ती व्यक्ति रेविका सिंह ठकुरी रहिछिन्। रेविका र दिलप्रीत सिंह दुवैलाई मैले चिनेको थिइन। उनीहरूसँग कुनै लेनदेन पनि छैन।
रुबीले मलाई भेटेर कुरा गर्ने प्रस्ताव राखेपछि म बस्दै आएको लाजिम्पाटस्थित दूषित प्रिन्सेस होटेलमा बोलाएको थिएँ। रुबीसँगै दिलप्रीत सिंह पनि म बसेको होटेलमा आए। हामीहरू होटेलको लबीमा बस्यौँ र 'के स्पन्सर रहेछ?' भनेर कुरा सुन्न थाल्यौँ।
उनीहरूले (एनपीएलको) कुनै ओभरमा सांकेतिक रूपमा कुरा गरेर 'रन आउट' हुने सर्त राख्दै एक करोडदेखि पाँच करोडसम्म अफर गरे। दुवैले सर्त राखेर पैसाको अफर गरेपछि मैले 'यो गैरकानुनी काम हो, यस्तो काम गर्नु हुँदैन' भनेँ।
'रेविका र मबीच इन्स्टाग्राम र ह्वाट्सएपमा पनि कुराकानी भएको थियो। स्क्रिनसट हामीबीच भएकै कुराकानी हो। रुबीसँगै आएका दिलप्रीत यसको मुख्य व्यक्ति हुन्। उनले मलाई कसरी 'रन आउट' हुने भन्ने सिकाई रहेका थिए। उनले “म भारतमा क्रिकेट खेलेको हुँ” समेत भनेका थिए।
यो घटनामा दिलप्रीतले रुबीलाई प्रयोग गरेर मलाई प्रभावित गर्ने प्रयास गरेका हुन्। तर उनीहरूबाट मैले कुनै आर्थिक लाभ लिएको छैन। उनीहरूले कानुनविपरीत प्रस्ताव गरेपछि मैले तत्काल प्रहरीलाई खबर गरेको हुँ।
उनीहरू दुवैले नेपालमा प्रतिबन्धित विभिन्न बेटिङ साइटहरूमा रकम हारजित हुने गरी सट्टाबाजी गर्ने-गराउने काम गर्ने गरेको र सोही खेलमार्फत अवैध रकम आर्जन गर्ने उद्देश्यले म जस्ता खेलाडीलाई सम्पर्कमा राखी प्रभावमा पार्ने प्रयास गरेका हुन्।
(जिल्ला अदालत काठमाडौंमा दायर भएको अभियोग पत्रमा समावेश बयानमा आधारित)
सम्बन्धित समाचार
मंसिर २४, २०८२ बुधबार १३:५०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।